काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकका लागि संकलित राहत सामग्री वितरणमा गृहमन्त्री सुधन गुरुङनिकट संस्था ‘हामी नेपाल’लाई मात्र प्राथमिकता दिइएको भन्दै आपत्ति जनाएका छन्।

आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित बाढी–पहिरो तथा विपद् व्यवस्थापनसम्बन्धी बैठकमा आङ्देम्बेले राहत वितरणमा कुनै एक संस्था वा व्यक्तिलाई मात्रै प्राथमिकता दिन नहुने धारणा राखेका हुन्।

उनका अनुसार शनिबार प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटमा समेत आफूले राहत वितरणको विषयमा प्रश्न उठाएका थिए। सरकारले संकलन गरेको राहत सामग्री गृहमन्त्रीनिकट संस्थामार्फत मात्रै वितरण भइरहेको भए त्यसले प्रभावित क्षेत्रमा राहत पुग्न ढिलाइ हुने उनको भनाइ छ।

‘जति पनि राहत सामग्री छ, त्यो सरकारमा रहेका व्यक्तिले चिनेको वा नजिकको संस्था ‘हामी नेपाल’ले मात्रै पाएको गुनासो आएको छ। यदि त्यस्तो हो भने राहत आवश्यक परेको ठाउँमा समयमै नपुग्न सक्छ। स्थानीय तह, जिल्ला प्रशासन र राज्यले विश्वास गरेका विभिन्न संघ–संस्थालाई पनि राहत वितरणमा परिचालन गर्नुपर्छ,’ आङ्देम्बेले भने।

उनले रसुवामा पर्याप्त राहत सामग्री नपुगेको गुनासो आएको भन्दै नुवाकोटको विदुरमा राहत सामग्री थुप्रिने तर बाढीबाट अत्यधिक प्रभावित रसुवामा आवश्यक सामग्री नपुग्ने अवस्था उचित नभएको बताए।

आङ्देम्बेले विपद्को समयमा राजनीतिक दलहरूले प्रचारभन्दा मानवीय सेवामा प्राथमिकता दिनुपर्नेमा जोड दिए। नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई समेत पार्टीको झन्डा प्रयोग गरेर राहत वितरण नगर्न निर्देशन दिइएको उनले जानकारी दिए।

उनले प्रधानमन्त्री शाहसँगको भेटमा भोटेकोशी र त्रिशूली नदीमा बाढीका कारण पुलहरू बगाएकाले आवतजावत सहज बनाउन तत्काल वैकल्पिक रूपमा तुइनको व्यवस्था गर्न आग्रह गरेको पनि बताए।

त्यस्तै, उद्धार कार्यमा थप सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय उद्धार टोलीलाई प्रभावित क्षेत्रमा तत्काल प्रवेश तथा उद्धारको अनुमति दिनुपर्ने मागसमेत आफूले प्रधानमन्त्रीसमक्ष राखेको आङ्देम्बेले बताए।

‘नेपालका उद्धार टोलीले मात्रै सबै काम सम्भव हुँदैन। उद्धारका लागि इच्छुक र सक्षम सबै टोलीलाई प्रभावित क्षेत्रमा पुग्ने वातावरण बनाउनुपर्छ,’ उनले भने।

प्रकाशित मिति: १४ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com