विज्ञान र प्रविधिको अभूतपूर्व विकासले मानव सभ्यतालाई समृद्धिको नयाँ उचाइमा पुर्‍याएको छ। तर, यही विकासको अन्धधुन्ध दौडमा मानिसले प्रकृतिको सर्वोपरि शक्तिलाई बिर्सने गम्भीर गल्ती गरिरहेको छ। जलविद्युत्का नाममा नदीको प्राकृतिक बहाव रोक्ने बाँधहरू, डेटा सेन्टर र आर्टिफिसियल इन्टेलिजेन्स (AI) को अत्यधिक ऊर्जा खपत, विशाल युद्ध तथा आणविक परीक्षण, अनि डीप-सी माइनिङ जस्ता गतिविधिले पृथ्वीको पारिस्थितिक प्रणालीलाई ध्वस्त पारिरहेका छन्। प्राकृतिक स्रोतको अनियन्त्रित दोहन, वन विनाश र सहरी कङ्क्रीटकरणले गर्दा विश्वव्यापी तापक्रम वृद्धि भई जलवायु परिवर्तनको संकट चुलिएको छ।

जलवायु परिवर्तनको सबैभन्दा ठूलो र प्रत्यक्ष असर हाम्रा उच्च हिमाली क्षेत्रहरूमा परेको छ। विश्वको तापमान वृद्धि भएसँगै हिमाली क्षेत्रका हिमनदीहरू तीव्र गतिमा पघ्लिरहेका छन् भने नयाँ-नयाँ हिमतालहरू बन्ने र पुराना हिमताल फुट्ने जोखिम गुणात्मक रूपमा बढेको छ। हिमाली भेगमा हिउँ पग्लिनु केवल स्थानीय समस्या मात्र होइन; यसले तल्लो तटीय क्षेत्रमा विनाशकारी बाढी, पहिरो र डुबानको शृङ्खला निम्त्याइरहेको छ। प्रकृतिको स्वाभाविक चक्रमा मानिसले गरेको हस्तक्षेप नै आजको विश्वव्यापी वातावरणीय संकटको मूल कारण हो।

मानव अस्तित्व प्रकृतिको सन्तुलनमा टिकेको छ। बानकियाओ बाँध जस्ता ऐतिहासिक दुर्घटनाले चेतावनी दिएझै प्रकृतिसँगको खेलबाड महँगो पर्छ। संकट टार्न हिमताल जोखिम न्यूनीकरण, चुरे संरक्षण, स्वच्छ ऊर्जा र अनुशासित जीवनशैली अपनाउँदै प्रकृतिसँग मिलेर बाँच्ने विकास मोडल लागू गर्नु नै एक मात्र विकल्प हो।

हामीले बिर्सनु हुँदैन कि मानव अस्तित्व प्रकृतिको सन्तुलनमा आधारित छ। भौतिक सुख-सुविधा, युद्ध-सामग्री निर्माण र डिजिटल पूर्वाधारको होडबाजीमा वातावरणलाई पुर्‍याइएको क्षतिले अन्ततः मानव जातिलाई नै विनाशको संघारमा पुर्‍याउँछ। प्राकृतिक विपत्तिहरू कुनै आकस्मिक दुर्घटना मात्र होइनन्, यी त प्रकृति विरुद्ध मानवले गरेका लगातारका अत्याचारका प्रतिक्रिया हुन्। यदि समयमै प्रकृतिको मर्यादा र यसका सीमाहरूलाई स्वीकार गरिएन भने, मानव निर्मित अत्याधुनिक प्रविधि पनि प्रकृतिको भयानक प्रकोपअघि निस्साहाय बन्नेछ।

विकास कि विनाश: प्रविधिको अन्धधुन्ध दौड

आजको आधुनिक युग प्रविधि र भौतिक पूर्वाधारको चरम विकासबाट निर्देशित छ, तर यसको ठूलो मूल्य प्रकृतिले चुकाउनु परिरहेको छ। सिँचाइ र ऊर्जाका लागि बनाइने ठूला बाँधहरूले नदीको स्वाभाविक जलप्रवाह रोकेर जल-पारिस्थितिक प्रणाली नष्ट गरेका छन्। कृषि उत्पादकत्व बढाउने नाममा प्रयोग गरिएका तीव्र रासायनिक विषादी र मलले माटोको जैविक क्षमता समाप्त पारेका छन्। यति मात्र होइन, आधुनिक डिजिटल पूर्वाधार जस्तै विशाल डेटा सेन्टरहरू, AI मोडलहरूको तालिम र क्रिप्टोकरेन्सी माइनिङले गर्ने अत्याधिक बिजुली र पानीको खपतले अदृश्य रूपमा ठूलो मात्रामा कार्बन उत्सर्जन गरिरहेको छ।

युद्ध र सामरिक प्रतिस्पर्धाले वातावरणमा पुर्‍याएको क्षति अझ भयावह छ। आणविक परीक्षण, क्षेप्यास्त्र प्रयोग र सैन्य अभ्यासले वायुमण्डल र जलमण्डललाई दूषित बनाएका छन्। अन्तरिक्षमा थुप्रिएको विशाल ‘अन्तरिक्ष फोहोर’ र सौखिन अन्तरिक्ष पर्यटनले माथिल्लो वायुमण्डलसम्म रसायन फैलिरहेको छ। यस्तै, ग्याजेट उत्पादनका लागि दुर्लभ खनिजको उत्खनन, विद्युतीय गाडीका लागि लिथियम उत्खनन र समुद्रको गहिराइमा गरिने ‘डीप-सी माइनिङ’ ले भू-गर्भ र समुद्री जीवको बासस्थान तहसनहस पारेको छ।

सहरीकरणका नाममा गरिएका कङ्क्रीटकरण, सिसाका भवन निर्माण, ५ जी टावरहरूको विस्तार, ध्वनिविहीन वातावरणको साटो ध्वनि र प्रकाश प्रदूषणले जैविक चक्र नै बिगारेका छन्। पहाड काटेर बिना अध्ययन निर्माण गरिएका डोजरे सडकहरूले भौगर्भिक सन्तुलन बिगाहेका छन्। प्लाष्टिक प्याकेजिङ, फास्ट फेसन र ई-फोहोर जलाउने कार्यले विषालु धातुहरू वातावरणमा छरिएका छन्। मानिसले आफ्नो अल्पकालीन सुविधाका लागि प्रकृतिका हरेक अंगमा प्रहार गरिरहेको छ।

हामीले प्राकृतिक स्रोतको दोहनलाई ‘विकास’ को नाम दिने गम्भीर भूल गरिरहेका छौ। हरित क्षेत्रको अभाव, नदी किनारमा सोझै ढल मिसाउनु, कृत्रिम द्वीप निर्माण र नदीको धार परिवर्तन गर्ने जस्ता कार्यले प्राकृतिक पुनर्भरण प्रणाली ठप्प पारेका छन्। नवीकरणीय ऊर्जाका पुराना सोलार प्यानल र विन्ड टर्बाइनको अव्यवस्थित विसर्जनले समेत नयाँ प्रकारको फोहोर सिर्जना गरिरहेको छ।

मानव जातिको यो उपभोगवादी जीवनशैली र अनियन्त्रित प्राविधिले पृथ्वीको सहनशीलताको सीमा नाघिसकेको छ। यदि प्रविधि र पूर्वाधार निर्माणलाई प्रकृतिमैत्री र दिगो नबनाउने हो भने, मानव विकासको यो यात्रा आफैमा आत्मघाती सिद्ध हुने निश्चित छ।

मानव अहङ्कारमाथि प्रकृतिको वज्रपात

प्रविधिको चरम विकासले मानिसमा आफू प्रकृतिसँग पनि जित्न सक्छु भन्ने भ्रम र अहङ्कार पैदा गरिदियो। तर इतिहास साक्षी छ, जब-जब प्रकृतिको सीमा उल्लंघन भयो, तब-तब प्रकृतिको भयानक प्रकोपसामु मानव निर्मित प्रविधि र इन्जिनियरिङ पूर्ण रूपमा परास्त भएका छन्। सन् १९१२ मा ‘कहिल्यै नडुब्ने’ दाबी गरिएको अत्याधुनिक टाइटानिक जहाज हिउँको ढिस्कोसँग ठोक्किएर डुब्नु प्रविधिमाथिको पहिलो ठूलो प्राकृतिक झापड थियो।

सन् १९७५ मा चीनको हेनान प्रान्तमा ‘हजार वर्षको बाढी सहनसक्ने’ भनेर बनाइएको बानकियाओ बाँध टाइफुन नीनाको भीषण वर्षाका कारण फुटेर ६२ वटा बाँधहरू ताशको पत्ताझै ढले। त्यस घटनामा प्रत्यक्ष बाढी, भुखमरी र महामारीबाट २ लाख ४० हजार मानिसको ज्यान गयो भने चीन सरकारले यो विनाशलाई ३० वर्षसम्म विश्वसामु गोप्य राख्यो। यस्तै, सन् १९८६ को चेर्नोबिल र सन् २०११ को जापानको फुकुसिमा आणविक दुर्घटनाले मानव निर्मित सर्वोच्च सुरक्षा प्रणालीलाई क्षणभरमै रेडियोधर्मी नर्कमा परिणत गरिदिए।

नासाका अति अत्याधुनिक अन्तरिक्ष यानहरू चैलेंजर (१९८६) र कोलम्बिया (२००३) साना प्राविधिक/तापीय असफलताका कारण हावामै भस्म भए, जसले अन्तरिक्ष प्रविधिको सीमा देखाइदियो। सन् २००५ मा अमेरिकाको न्यु अर्लिन्समा हुरिकेन क्याट्रिना आउँदा अत्याधुनिक लेभी तटबन्धहरू भत्किए भने सन् २०२१ मा टेक्सासको आधुनिक पावर ग्रिड अत्यधिक चिसोका कारण ठप्प भयो। सन् २००३ मा युरोपमा आएको भीषण तातो लहरले ७० हजार मानिसको ज्यान लिदा आधुनिक स्वास्थ्य प्रणाली र एसी (AC) निष्प्रभावी बने।

समुद्र र प्रकृतिसँगको खेलबाड कति महँगो पर्छ भन्ने उदाहरण सन् २०१० को दीपवाटर होराइजन तेल चुहावट र सन् २००४ को हिन्द महासागरको विनाशकारी सुनामी हुन्, जसले २ लाख ३० हजार भन्दा बढीको ज्यान लियो। सन् २०१९-२०२० मा अस्ट्रेलियाको डढेलो नियन्त्रण गर्न आधुनिक हेलिकप्टर र दमकलहरू असफल भए र ३ अर्ब वन्यजन्तु भस्म भए। सन् २०१३ मा फिलिपिन्सको हाइयान टाइफुन र भारतको केदारनाथ बाढीले अव्यवस्थित कङ्क्रीट संरचनाहरूलाई बगाएर लगे।

नेपालकै सन्दर्भमा पनि सन् २०२१ मा मेलम्चीमा आएको अप्राकृतिक गेग्रानसहितको बाढीले अर्बौको लागतमा निर्मित मेलम्ची खानेपानीको हेडवर्क्स पुरेको घटना र हालैको भोटेकोशी बाढीले पुर्‍याएको क्षतिबारे अवगतनै हुनुहुन्छ। यी घटनाहरूले स्पष्ट पार्छन् कि मानव प्रविधि जतिनै शक्तिशाली भए पनि प्रकृतिको महाविनाशकारी क्षमतासामु सधै तुच्छ र कमजोर हुन्छ।

बानकियाओ बाँध दुर्घटना: इतिहासको ठूलो पाठ

सन् १९७५ अगस्ट ८ को राति चीनको हेनान प्रान्तमा घटेको बानकियाओ बाँध दुर्घटना मानव निर्मित इतिहासकै सबैभन्दा भयावह र पाठ सिक्नयोग्य प्राकृतिक-प्राविधिक विपद् हो। सन् १९४९ र १९५० को भीषण बाढीपछि चिनियाँ नेता माओत्सेतुङको निर्देशनमा हुवाई नदी प्रणालीमा बाढी नियन्त्रण र बिजुलीका लागि सोभियत प्रविधिको प्रयोग गरी बानकियाओ बाँध बनाइएको थियो। निर्माण लगत्तै चिरा परेकाले सन् १९५५ मा मर्मत गरी यसलाई कहिल्यै नफुट्ने ‘आइरन ड्याम’ को संज्ञा दिइयो।

तर यसको निर्माणमा गम्भीर प्राविधिक त्रुटि थियो। चीनका मुख्य जलविशेषज्ञ चेन सिङले बाँधमा पानी फाल्ने ढोका कम्तीमा १२ वटा हुनुपर्ने चेतावनी दिएका थिए। तर, तत्कालीन चिनियाँ सरकारले प्राविधिक चेतावनीको बेवास्ता गर्दै ५ वटा मात्र ढोका बनायो र सत्य बोल्ने इन्जिनियर चेन सिङलाई पदबाट हटाएर कारबाही गर्‍यो। करिब २० वर्षसम्म सामान्य काम गरेपछि अगस्ट १९७५ मा टाइफुन ‘नीना’ हेनान पुगेर अभूतपूर्व वर्षा गरायो; १ वर्षमा पर्ने पानी (१०६० मी.मी.) ५ र ६ अगस्टको २४ घण्टामै पर्यो।

अत्यधिक वर्षापछि बाँधका ५ वटा ढोका खोलिए पनि वर्षौदेखि जमेर बसेको लेदो र माटोका कारण पानी पर्याप्त मात्रामा निस्कन सकेन। सांस्कृतिक क्रान्तिको राजनीतिक अराजकता, सञ्चार सम्पर्क विच्छेद र तल्लो तटीय क्षेत्रको डुबानको डरले अधिकारीहरूले स्पष्ट आदेश दिन सकेनन्। अगस्ट ७ को राति माथिल्लो शिवाङतान बाँध फुटेपछि अगस्ट ८ राति १ बजे बानकियाओ बाँधमा ३०० मिटर चौडा चिरा परे र ७० करोड घनमिटर पानी एक्कासी बाहिर निस्कियो। १० कि.मी. चौडा र ७ मिटर अग्लो पानीको पर्खाल ५० कि.मी./घण्टाको रफ्तारमा गाउँतिर सोझियो।

यस धक्काले हुवाई नदी प्रणालीका लगातार ६२ वटा साना-ठूला बाँधहरू तासको पत्ताझै ढले। १२ हजार वर्ग कि.मी. क्षेत्र डुबानमा पर्यो र ६० लाखभन्दा बढी घरहरू पूर्ण रूपमा नष्ट भए। बाढीको निकास नभएपछि सेनाले आफ्नै तटबन्धहरू बारुदले उडाउनु परेको थियो। बाढीमा परेर प्रत्यक्ष २६,००० जनाको मृत्यु भयो भने बाढीपछिको भुखमरी र हैजा-टाइफाइड जस्ता महामारीले थप २ लाख ४० हजार मानिसले ज्यान गुमाए।

चीन सरकारले यस लज्जास्पद र भयावह दुर्घटनालाई ‘राजकीय गोपनीयता’ बनाएर करिब ३० वर्षसम्म लुकाएर राख्यो र सन् २००५ मा मात्र आधिकारिक दस्तावेज सार्वजनिक गर्‍यो। बानकियाओ दुर्घटना केवल प्राकृतिक प्रकोप मात्र थिएन; यो प्राविधिक चेतावनीको बेवास्ता, कमजोर डिजाइन, राजनीतिक हस्तक्षेप र अहङ्कारको नतिजा थियो। यस घटनाले आज विश्वभरका बाँध निर्माता र नीति निर्माताहरूलाई प्रकृतिसँग खेलबाड नगर्न गम्भीर चेतावनी दिइरहेको छ।

नेपालको हिमाली संकट र वातावरणीय चुनौती

नेपाल विश्वमै जलवायु परिवर्तन र वातावरणीय जोखिमको अग्रपङ्क्तिमा रहेको संवेदनशील हिमाली देश हो। हाम्रो कमजोर भौगोलिक बनावट, भिरालो जमिन र तीव्र गतिमा पग्लिरहेका हिमनदीहरूका कारण नेपाल हिमताल फुट्ने बाढी, विनाशकारी पहिरो, गेग्रान बहाव र बेमौसमी डुबानको ठूलो जोखिममा छ। छोरोल्पा, इम्जा जस्ता दर्जनौ हिमतालहरू जुनसुकै बेला फुट्न सक्ने खतरामा छन्, जसले तल्लो तटीय क्षेत्रका बस्ती, जलविद्युत् आयोजना र पूर्वाधारलाई क्षणभरमै सखाप पार्न सक्छन्।

नेपालमा वातावरणीय विनाशको अर्को प्रमुख कारण विकासका नाममा भइरहेको अव्यवस्थित डोजर आतंक हो। वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) र प्राविधिक अध्ययन नगरी पहाडी भूगोलमा जथाभावी खनिएका सडकहरूले भू-भागलाई कमजोर बनाएका छन्, जसका कारण सामान्य वर्षामा पनि भीषण पहिरो जाने गरेको छ। यसैगरी, नदीहरूबाट बालुवा, गिट्टी र ढुङ्गाको अनियन्त्रित दोहन, चुरे क्षेत्रको विनाश र प्राकृतिक सिमसारहरूको अतिक्रमणले मरुभूमीकरण र तराईमा डुबानको समस्या बढाएको छ।

हाम्रा हिमालहरू आज प्लास्टिक, अक्सिजन सिलिन्डर र पर्वतारोहीका फोहोरले भरिएका छन्। हिमाली क्षेत्रमा तापक्रम वृद्धिदर विश्वव्यापी औसतभन्दा बढी छ, जसले गर्दा हिउँको रेखा माथि सरिरहेको छ र पानीका प्राकृतिक मुहानहरू सुकिरहेका छन्। सहरी क्षेत्रमा कङ्क्रीटको अतिक्रमणले बर्खाको पानी जमिनमुनि पुनर्भरण हुन पाएको छैन, जसले गर्दा काठमाडौ लगायतका सहरहरूमा एकातिर ढलको समस्या छ भने अर्कोतिर खानेपानीको हाहाकार छ।

प्रकृति कुनै मानव निर्मित प्रविधि वा अहङ्कारको अधीनमा छैन। यदि हामीले हाम्रा हिमाल, नदी, वन र माटोलाई जोगाउन आजै ठोस कदम चालेनौ भने प्रकृतिको भावी पुनरागमन अझ विनाशकारी हुनेछ। प्रकृति बचाउनु नै मानव सभ्यताको भविष्य सुरक्षित गर्नु हो।

यसबाहेक, सीमा क्षेत्रमा छिमेकी मुलुकले बनाएका अप्राकृतिक बाँध र तटबन्धका कारण तराईका हजारौ हेक्टर खेतीयोग्य जमिन हरेक वर्ष डुबानमा पर्छन्। डढेलोको बढ्दो क्रम, वन फँडानी र जैविक विविधताको ह्रासले नेपालको पारिस्थितिक सन्तुलन छिन्नभिन्न बनाएको छ। हिमाली भेगमा आउने विपद्ले देशको समग्र अर्थतन्त्र, पर्यटन र जनजीवनमा दीर्घकालीन नकारात्मक असर पारिरहेको छ।

हामीले बुझ्नुपर्छ कि नेपालको हिमाली संकट केवल हाम्रो मात्र समस्या होइन, यो सम्पूर्ण दक्षिण एसियाको जलसुरक्षासँग जोडिएको विषय हो। यदि हाम्रा हिमालहरू हिउँविहीन काला पहाडमा परिणत भए भने यस क्षेत्रका अर्बौ मानिसको जीवन संकटमा पर्नेछ। त्यसैले नेपालले आफ्ना प्राकृतिक स्रोतको संरक्षण गर्दै हिमाली संकट विरुद्ध तत्काल ठोस कदम चाल्नु अपरिहार्य भइसकेको छ।

निष्कर्ष तथा सुझाव

जलवायु परिवर्तन, हिउँ पग्लिने क्रम र प्राकृतिक विपद्को चक्रलाई रोक्न नेपालले तत्काल दीर्घकालीन, वैज्ञानिक र व्यावहारिक समाधानका उपायहरू अपनाउनु आवश्यक छ। प्रकृतिसँग जुधेर होइन, प्रकृतिसँग मिलेर बाँच्ने विकासको मोडल नै आजको आवश्यकता हो।

संकट समाधानका मुख्य पाँच रणनीतिहरू:

हिमताल जोखिम न्यूनीकरण र पूर्वसूचना प्रणाली: छोरोल्पा र इम्जा जस्ता जोखिमयुक्त हिमतालहरूको जलस्तर सुरुङ वा पाइप मार्फत घटाउने। सेन्सर, साइरन, स्याटेलाइट र ड्रोन निगरानी सहितको अत्याधुनिक पूर्वसूचना प्रणाली तल्लो तटीय क्षेत्रसम्म विस्तार गर्ने।

हरित पूर्वाधार र डोजर आतंकमा रोक: वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) बिना पहाडमा डोजर चलाउन पूर्ण प्रतिबन्ध लगाउने। ‘ग्रीन रोड’ अवधारणा, जैविक इन्जिनियरिङ (अम्रिसो, बाँस, वृक्षारोपण) र ग्याबियन/चेक ड्याम मार्फत भिरालो जमिन र नदी कटान नियन्त्रण गर्ने।

चुरे र एकीकृत जलाधार संरक्षण: तराईलाई मरुभूमीकरणबाट जोगाउन चुरे क्षेत्रको उत्खनन र वन विनाश पूर्ण रोक्ने। नदीबाट बालुवा-गिट्टीको दोहन बन्द गर्ने, सिमसार र पुनर्भरण पोखरीहरूको पुनरुत्थान गर्ने तथा नदी किनार र डुबान क्षेत्रमा निर्माण प्रतिबन्ध लगाउने भू-उपयोग नीति लागू गर्ने।

स्वच्छ ऊर्जा र दिगो जीवनशैली: खनिज इन्धनको आयात घटाउन विद्युतीय सवारी र सौर्य ऊर्जामा अनुदान दिने। हिमाल आरोहणमा कडा आचारसंहिता र सफाइ अभियान चलाउने, प्लास्टिकमा पूर्ण प्रतिबन्ध लगाउने र विद्यालय स्तरदेखि नै विपद् शिक्षा समावेश गर्ने।

जलवायु कूटनीति र अन्तर्राष्ट्रिय क्षतिपूर्ति: विश्वमञ्चमा नेपालले ठूला कार्बन उत्सर्जक राष्ट्रहरूसँग हिमाल जोगाउन र नोक्सानी भरणका लागि ‘हानि र क्षति कोष’ (Loss and Damage Fund) बाट हर्जाना ल्याउन बलियो जलवायु कूटनीति पैरवी गर्ने।

प्रकृति कुनै मानव निर्मित प्रविधि वा अहङ्कारको अधीनमा छैन। यदि हामीले हाम्रा हिमाल, नदी, वन र माटोलाई जोगाउन आजै ठोस कदम चालेनौ भने प्रकृतिको भावी पुनरागमन अझ विनाशकारी हुनेछ। प्रकृति बचाउनु नै मानव सभ्यताको भविष्य सुरक्षित गर्नु हो।

प्रकाशित मिति: १८ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com