काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यास अभावबारे उद्योगीलाई लक्षित गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

बुधबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्रीले दिएको अभिव्यक्ति गैरजिम्मेवार र अमर्यादित भएको सङ्घको आरोप छ।

सङ्घले ग्यास उद्योगीले कृत्रिम अभाव सिर्जना गरेको प्रमाणित भए कानुनी कारबाही गर्न आफूहरू तयार रहेको तर बिनाप्रमाण उद्योगीलाई दोषी देखाउँदै भौतिक कारबाहीको संकेत गर्नु अत्यन्त आपत्तिजनक भएको जनाएको छ।

सङ्घका अनुसार आधा सिलिन्डर ग्यास १५ दिनका लागि लागू गर्ने भनिए पनि चार महिनासम्म त्यसलाई निरन्तरता दिइनु, पूर्ण सिलिन्डरमा फर्काउन गरिएको आग्रह बेवास्ता हुनु, ग्यास आयातमा तदारुकता नदेखिनु तथा पूर्ण सिलिन्डर लागू भएपछि माग अचानक बढ्नु अभावका प्रमुख कारण हुन्।

त्यसैगरी पृथ्वी राजमार्गमा भएको अवरोधका कारण ग्यास बुलेट ढुवानी प्रभावित हुनु पनि आपूर्तिमा समस्या आउनुको कारण रहेको सङ्घले स्पष्ट पारेको छ।

प्राकृतिक विपत्तिका बेला समेत उद्योगीहरूले सेवा दिँदै आएको उल्लेख गर्दै सङ्घले समस्याको वस्तुनिष्ठ समीक्षा गरी समाधान खोज्न सरकारसँग आग्रह गरेको छ। कठिन परिस्थितिमा उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सरकारसँग सहकार्य गर्न आफूहरू प्रतिबद्ध रहेको सङ्घका अध्यक्ष कृष्णभक्त श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com