काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारलाई ‘तासको पत्ता’को संज्ञा दिएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले सरकार गठन भएदेखि नै मधेसी समुदायमाथि प्रहार भइरहेको आरोप लगाउँदै सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका हुन् ।

मधेसी समुदायमाथि राज्यबाट भइरहेको व्यवहारप्रति प्रश्न उठाउँदै उनले भोला पासवानले आफूलाई देखाएको बविता पासवानको भिडियोको प्रसंग संसद्मा उठाए ।

उनका अनुसार बविता पासवानले अस्पतालमा बस्ने ठाउँ नपाएर बाहिरै सुत्केरी हुनुपर्ने अवस्था आएको थियो । उक्त घटना देख्दा आफू भावुक भएको उनले बताए ।

‘म यहाँ रुँदिनँ, म राज्यलाई भन्न चाहन्छु—तपाईं मधेसीको बलमा सरकार ठड्याउनुभएको छ । तपाईंको यो सरकार तासको पत्ता हो,’ सिंहले भने ।

सरकारले मधेसी समुदायलाई सुरुदेखि नै बेवास्ता गरेको आरोप लगाउँदै उनले त्यसको परिणाम गम्भीर हुन सक्ने चेतावनी दिए ।

‘तपाईंको सरकार बनेन भने आत्मदाह गर्छु भनेको थिएँ । यहीँबाट भन्न चाहन्छु- तपाईं मधेसीलाई हेप्नुहुन्छ भने नास हुन्छ,’ उनले भने ।

उनले दीपककुमार साहको बर्खास्ती तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग जोडिएका विषय उल्लेख गर्दै मधेसीमाथि निरन्तर प्रहार भइरहेको दाबी गरे ।

मधेसी समुदायका लागि बर्दिवास मेडिकल निर्माण गर्ने आफ्नो सपना सरकारले तुहाएको आरोप लगाउँदै सिंहले प्रधानमन्त्रीप्रति आक्रोश व्यक्त गरे ।

उनले आफू कुनै गुटमा विश्वास नगर्ने बताउँदै प्रधानमन्त्रीका सल्लाहकारहरूले जासुसी संस्थासँग भेटघाट गर्न राज्यको सम्पत्ति दुरुपयोग गरेको आरोपसमेत लगाए ।

यस्तै, रसुवामा आएको भोटेकोशी बाढीपछि उद्धार तथा राहतमा सरकारले ढिलाइ गरेको, किसानले समयमै मल नपाएको तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत सरकारले अपेक्षित काम गर्न नसकेको उनले बताए ।

न्यायालय र कर्मचारीतन्त्रसमेत अस्तव्यस्त बन्दै गएको दाबी गर्दै सिंहले प्रधानमन्त्रीको सचिवालय र सल्लाहकारहरूको कार्यशैलीका कारण सरकार असफलतातर्फ उन्मुख भएको आरोप लगाए ।

प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com