काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आगामी सेप्टेम्बर २३ मा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क जाने भएका छन्। यो कार्यकारी प्रमुख बनेपछि उनको पहिलो औपचारिक विदेश भ्रमण हुनेछ।
परराष्ट्र मन्त्रालयका अनुसार सेप्टेम्बर २४ मा प्रधानमन्त्री शाहले महासभाको ‘जनरल डिबेट’लाई सम्बोधन गर्नेछन्। सुरुमा परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा टोली पठाउने तयारी भए पनि रसुवा तथा भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोपछि प्रधानमन्त्री स्वयं भ्रमणको नेतृत्व गर्न लागेका हुन्।
महासभामा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षति, हिमाली क्षेत्रमा बढ्दो जोखिम, जलवायु न्याय तथा ‘हानि तथा नोक्सानी’को क्षतिपूर्तिको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी छ। जलवायु–उत्थानशील पूर्वाधार निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता पनि उनले विश्व समुदायसमक्ष राख्नेछन्।
ट्रम्पसँग भेटको सम्भावना कति?
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण तय भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता हुन्छ कि हुँदैन भन्ने विषयमा चासो बढेको छ।
हालसम्म शाह र ट्रम्पबीच औपचारिक द्विपक्षीय भेटवार्ताको कार्यतालिका तय नभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। यद्यपि महासभाका क्रममा हुने उच्चस्तरीय भेटघाट, रात्रिभोज वा अन्य ‘साइडलाइन’ कार्यक्रममार्फत दुई नेताबीच संक्षिप्त भेट वा संवादको सम्भावना भने रहेको छ।
यसअघि अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुरले नेपाल भ्रमण गरी परराष्ट्रमन्त्री खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गरिसकेका छन्। यसले नेपाल–अमेरिका उच्चस्तरीय कूटनीतिक सम्पर्कलाई निरन्तरता दिएको देखिन्छ।
नेपालबाट महासभाका लागि प्रधानमन्त्री शाहसहित १५ सदस्यीय प्रतिनिधिमण्डल जाने तयारी छ। परराष्ट्रमन्त्री खनाल भने सेप्टेम्बर २० मै न्यूयोर्क पुगेर विभिन्न मन्त्रीस्तरीय बैठकमा सहभागी हुनेछन्।
प्रधानमन्त्री शाहले महासभाका क्रममा नेपालका पछिल्ला राजनीतिक परिवर्तन, शासकीय सुधारका प्राथमिकता र जलवायुजन्य विपद्का विषयसमेत अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी गरेका छन्।
मन्त्रिपरिषद्ले सेप्टेम्बर २२ देखि २६ सम्मको भ्रमण स्वीकृत गरे पनि प्रधानमन्त्रीले २४ तारिखमा सम्बोधन गरी २५ तारिखमै स्वदेश फर्कने संक्षिप्त तालिका बनाएका छन्।
प्रकाशित मिति: २८ भाद्र २०८३, आइतबार












प्रतिक्रिया