काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले आगामी वर्ष ब्रिक्सको अध्यक्षता सम्हाल्नुअघि संगठनभित्र आर्थिक, प्राविधिक र डिजिटल सहकार्यलाई नयाँ दिशा दिने पाँचबुँदे प्रस्ताव अघि सारेका छन्।

नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो सत्रलाई सम्बोधन गर्दै सीले ब्रिक्स विशेष आर्थिक क्षेत्र साझेदारीको प्रस्ताव राखेका हुन्। प्रस्तावले सदस्य राष्ट्रबीच व्यापार, लगानी तथा औद्योगिक सहकार्य विस्तारमा जोड दिएको छ।

चीनले आर्थिक तथा व्यापारिक सहकार्यका नयाँ क्षेत्र पहिचान गर्न आगामी वर्ष ब्रिक्स सेवा व्यापार मञ्च आयोजना गर्ने घोषणा पनि गरेको छ।

सीका प्रस्तावमा खुला स्रोत तथा समावेशी कृत्रिम बुद्धिमत्ता सहकार्यलाई विशेष प्राथमिकता दिइएको छ। चीनले ब्रिक्स कृत्रिम बुद्धिमत्ता खुला स्रोत समुदाय स्थापनामा नेतृत्व गर्ने प्रस्ताव गरेको छ।

त्यसैगरी, डिजिटल क्षेत्रमा ब्रिक्स डिजिटल पारिस्थितिक प्रणालीका लागि क्लाउड मञ्च स्थापना गर्ने, उत्पादन क्षेत्रमा स्मार्ट कारखाना निर्माण तथा त्यससम्बन्धी मापदण्ड विकासमा सहकार्य गर्ने प्रस्ताव अघि सारिएको छ।

विज्ञान तथा प्रविधितर्फ ब्रिक्स इन्जिनियर गठबन्धन स्थापना र युवाबीच नवप्रवर्तन आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव पनि सीले अघि सारेका छन्।

यी प्रस्तावमार्फत चीनले आगामी वर्ष आफ्नो अध्यक्षतामा ब्रिक्सको आर्थिक एकीकरणसँगै प्रविधि, कृत्रिम बुद्धिमत्ता, डिजिटल पूर्वाधार, स्मार्ट उत्पादन र युवा नवप्रवर्तनमा सहकार्य विस्तार गर्ने संकेत दिएको छ।

प्रकाशित मिति: २८ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com