काठमाडौं । सुनजस्तो देखिने पहेँलो धातु देखाएर पटक–पटक गरी १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ घर भई काठमाडौंको नयाँ बसपार्कमा बस्दै आएका २८ वर्षीय अनिष थापा मगर छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई टोखा नगरपालिका–९, मिलनटोलस्थित एक अतिथि गृहबाट पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट सुनजस्तो देखिने ८५६ ग्राम पहेँलो धातुसमेत बरामद गरेको जनाएको छ।
ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार थापा मगर यसअघि जबर्जस्ती करणीसम्बन्धी कसुरमा कैद सजाय भोगिरहेका थिए। उनी २०८२ भदौ २४ गते नख्खु कारागारबाट भागेकोसमेत खुलेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २८ भाद्र २०८३, आइतबार












प्रतिक्रिया