काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वमा शक्ति र बलका आधारमा मनोमानी गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन्। भारतको नयाँ दिल्लीमा जारी ब्रिक्सको १८औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय व्यवस्था सबै देशको समान सहभागितामा अघि बढाउनुपर्नेमा जोड दिए।
सीले ठूला–साना, धनी–गरिब सबै देश समान सम्मानका हकदार रहेको उल्लेख गर्दै ‘बल नै सही’ भन्ने सोच त्याग्नुपर्ने बताए। उनका अनुसार विकासशील देशहरूले बहुपक्षीयता र संयुक्त राष्ट्रसंघको भूमिकालाई थप सुदृढ गर्दै अन्तर्राष्ट्रिय मामिलामा सबै देशको समान सहभागिता सुनिश्चित गर्नुपर्छ।
अस्थिर बन्दै गएको विश्व परिस्थितिमा ब्रिक्स देशहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्दै विकासशील राष्ट्रलाई एकजुट गर्नुपर्ने र शान्ति तथा स्थिरताका लागि सकारात्मक शक्ति बन्नुपर्ने सीको भनाइ छ।
उनले अन्तर्राष्ट्रिय नियम कुनै एक शक्तिशाली देशले निर्धारण गर्न नहुने स्पष्ट पारे। ‘नियमबिनाको विश्व ट्राफिक बत्ती नभएको चोकजस्तै हो, जहाँ अराजकता र अव्यवस्था लगभग निश्चित हुन्छ,’ सीले भने, ‘निष्पक्षता र न्याय विश्वव्यापी आकांक्षा हो र अन्तर्राष्ट्रिय नियम सबै देशले मिलेर बनाउनुपर्छ।’
सीले सार्वभौम समानता, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र विवादको शान्तिपूर्ण समाधानजस्ता अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताको संरक्षण गर्न पनि आग्रह गरे।
अन्तर्राष्ट्रिय कानुन सबै देशमा समान रूपमा लागू हुनुपर्ने र दोहोरो मापदण्ड अन्त्य गरिनुपर्नेमा जोड दिँदै उनले विश्वव्यवस्थामा न्याय र निष्पक्षता कायम गर्न सामूहिक प्रयास आवश्यक रहेको बताए।
प्रकाशित मिति: २८ भाद्र २०८३, आइतबार












प्रतिक्रिया