वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका लागि उपराष्ट्रपति जेडी भान्सलाई अहिल्यै समर्थन गर्ने निर्णय लिन अस्वीकार गरेका छन्।
आयरल्यान्डको श्यानन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले भान्सले राम्रो काम गरिरहेको भन्दै प्रशंसा गरे पनि अहिले नै उनलाई आगामी राष्ट्रपतीय दौडका लागि समर्थन गर्नु हतार हुने बताए।
‘उनी उत्कृष्ट छन् र निकै राम्रो काम गरिरहेका छन्। तर यसबारे अहिले नै निर्णय लिनु चाँडो हुनेछ। रिपब्लिकन पार्टीसँग धेरै सक्षम नेताहरू छन्,’ ट्रम्पले भने।
यसअघि ‘द वासिङ्टन पोस्ट’ले ट्रम्पले निजी बैठकमा भान्सलाई सन् २०२८ का लागि सकारात्मक रूपमा हेरेको समाचार प्रकाशित गरेको थियो। यद्यपि, ट्रम्पका सल्लाहकारहरूले भान्सलाई उत्तराधिकारीका रूपमा अन्तिम छनोट नगरिएको स्पष्ट पारेका थिए।
ट्रम्पले भान्ससँगै विदेशमन्त्री मार्को रुबियोलाई पनि सम्भावित उत्तराधिकारीका रूपमा मूल्याङ्कन गरिरहेको बताइएको छ। ट्रम्पले दुवै नेताको जनसमर्थन र राजनीतिक सम्भावनाबारे आफ्ना सहयोगीसँग नियमित चासो राख्ने गरेको विवरण सार्वजनिक भएका छन्।
रिपब्लिकन पार्टीभित्र सम्भावित उम्मेदवारका पक्षमा दाता र कार्यकर्ता विभाजित हुन थालेका छन्। भान्सले पनि आफ्नो उम्मेदवारीबारे आगामी मध्यावधि निर्वाचनपछि मात्रै निर्णय गर्ने संकेत दिएका छन्।
रुबियोले भने आफ्नो राष्ट्रपतीय आकाङ्क्षाबारे सार्वजनिक रूपमा स्पष्ट धारणा राखेका छैनन्। ट्रम्पले दुवैलाई उच्च मूल्याङ्कन गर्दै आएकाले उनीहरूबीच सहकार्यको सम्भावना रहे पनि पछिल्लो वक्तव्यसँगै सन् २०२८ को नेतृत्वका लागि भान्स र रुबियोबीचको सम्भावित प्रतिस्पर्धा सतहमा आएको छ।
प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार












प्रतिक्रिया