काठमाडौँ । नवनियुक्त खानेपानी मन्त्री अब्दुल खानले पदभार ग्रहणका क्रममा मन्त्रालयमा बोतलको पानी किन भनेर प्रश्न गरेका छन् ।

माघ २ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम जनमत पार्टीका खानलाई खानेपानी मन्त्रालयका जिम्मेवारी दिइएको भए पनि बुधवार (आज) मात्रै उनले पदभार ग्रहण गरेका हुन् ।

उनले मन्त्रालय प्रवेश लगत्तै मन्त्रालयमा बोतलका लेबल लगाएको पानी भन्दा धाराको पानी तत्काल उपलब्ध गराउन सचिवलाई निर्देशन दिएका छन् ।

सचिव मणिराम गेलालले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) सँगको सहकार्यमा सिंहदरबारमा नै धारा जडानको काम सुरु गर्ने जानकारी दिए ।

‘हामी केयूकेएल भन्छौँ, मेलम्चीको स्वस्थ गुणस्तरीय पानी खुवाउने भन्छौँ, आफै चाहिँ विश्वास नगरेर बोतलको पानी पिउँछौँ’ मन्त्री खानले भने, अबदेखि बोतलको पानी बन्द गरौँ, धाराको पानी पिऔँ ।

सचिव गेलालले मन्त्री खानको स्वागतकै क्रममा सिंहदरवारभित्र मेलम्चीको पानी सिधै पिउन मिल्ने व्यवस्था गर्न प्रयास भइरहेको र छिट्टै यो कार्यान्वयन हुने बताए ।

युरोपतिर जस्तै सिधै धाराको पानी थापेर पिउने व्यवस्था सिंहदरवारबाटै सुरु गर्ने कुरा सचिव गेलालले यसअघि नै सचिव बैठकमासमेत उठाएका थिए । उनले केयूकेएलका कर्मचारीहरुलाईसमेत सो व्यवस्था गर्न निर्देशन दिएका थिए । सिंहदरवार पछाडि लोक सेवासँगको पानी ट्याङ्कीबाट मेलम्चीको प्रशोधित पानी सिधै सिंहदरवारस्थित मन्त्रालयका धारामा जडान गर्ने सचिव गेलालले बताएका थिए ।

खानेपानी व्यवस्थापनलाई थप मजबुत बनाउनका लागि केयूकेएल, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन र आयोजना कार्यान्वयन निर्देशनालयलाई एकीकृत गर्ने गठित सचिव स्तरीय समिति निर्माण गर्ने प्रस्तावनामा मन्त्री खानले पहिलो हस्ताक्षर पनि गरेका थिए ।

 

प्रकाशित मिति: ११ माघ २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com