वासिङ्टन डीसी । अमेरिकी सर्वोच्च अदालतले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि हुलाकमार्फत हुने मतदानमा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको प्रयास तत्काल लागू नगर्न आदेश दिएको छ।
अदालतको आदेशसँगै लाखौँ अमेरिकी मतदाताको हुलाकमार्फत मतदान गर्ने अधिकार हाललाई कायम रहने भएको छ। ट्रम्पले गत मार्चमा मेल–इन मतदानमा कडाइ गर्ने कार्यकारी आदेश जारी गर्दै व्यापक धाँधलीको जोखिम रहेको दाबी गरेका थिए।
राज्यहरूले निर्वाचन व्यवस्थापनको अधिकार संघीय सरकारसँग नभई राज्यसँग रहने भन्दै उक्त आदेशलाई अदालतमा चुनौती दिएका थिए। निर्वाचन अधिकारीहरूले समेत मतदान सुरु हुनुअघि नियम परिवर्तन गर्दा व्यवस्थापनमा जटिलता आउन सक्ने चेतावनी दिएका थिए।
सर्वोच्च अदालतका न्यायाधीश स्यामुअल अलिटो र क्लारेन्स थोमसले भने निर्णयप्रति असहमति जनाएका छन्।
प्रकाशित मिति: ३० भाद्र २०८३, मंगलबार












प्रतिक्रिया