एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई युरोपेली संघ (ईयू) को ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव अघि बढाइए युरोपमाथि भारी कर लगाउने चेतावनी दिएका छन् ।
बुधबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले क्यानडालाई ईयूको एसोसिएट सदस्य बनाउने प्रस्तावलाई ‘हाँसो उठ्दो’ भनेका थिए । उनले क्यानडासँगको व्यापार सम्बन्धलाई पनि आलोचना गरे ।
क्यानडा–ईयू सम्बन्ध विस्तारलाई अमेरिकाविरुद्धको ‘शत्रुतापूर्ण कदम’ का रूपमा लिएमा युरोपेली सामानमा निकै भारी कर लगाउने वा केही क्षेत्रमा युरोपसँगको व्यापार नै रोक्न सक्ने ट्रम्पले बताए ।
‘यदि यो राम्रो नियतले गरिएको हो भने ठीक छ । यदि नराम्रो नियतले गरिएको हो भने हामी युरोपमा धेरै भारी कर लगाउनेछौँ,’ ट्रम्पले भने, ‘युरोपसँग धेरै क्षेत्रमा व्यापार रोक्न पनि सक्छौँ ।’
ट्रम्पको यो चेतावनी युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले क्यानडासँगको सम्बन्ध थप विस्तार गर्ने प्रस्ताव अघि सारेपछि आएको हो । उनले बुधबार युरोपेली संसद्मा आफ्नो वार्षिक सम्बोधनका क्रममा क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने सम्भावनाबारे संकेत गरेकी थिइन् ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि पछिल्लो समय ईयूसँग ‘अद्वितीय गठबन्धन’ निर्माण गर्ने इच्छा व्यक्त गर्दै आएका छन् । अमेरिका र क्यानडाबीच व्यापार तथा अन्य विषयमा तनाव बढिरहेका बेला क्यानडाले युरोपसँग आर्थिक तथा रणनीतिक सम्बन्ध विस्तार गर्न खोजिरहेको छ ।
भोन डेर लेयनले क्यानडा र ईयूबीच विद्यमान व्यापार सम्बन्धलाई थप व्यापक सहकार्यमा विस्तार गर्ने धारणा राखेकी छन् । प्रस्तावित सम्बन्ध व्यापारमा मात्र सीमित नरही ऊर्जा, प्रविधि, रक्षा तथा अन्य रणनीतिक क्षेत्रमा सहकार्य विस्तार गर्ने दिशामा केन्द्रित हुने बताइएको छ ।
क्यानडालाई ईयूको एसोसिएट सदस्य बनाउने प्रस्ताव भने प्रारम्भिक चरणमै छ । यसको स्वरूप, अधिकार र दायित्वबारे ईयूका सदस्य राष्ट्रहरू तथा क्यानडाबीच थप छलफल आवश्यक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसैबीच, ट्रम्पको पछिल्लो चेतावनीले क्यानडा–ईयू सम्बन्ध विस्तारसँगै अमेरिका–युरोप व्यापार सम्बन्धमा थप तनाव उत्पन्न हुन सक्ने संकेत गरेको छ ।
प्रकाशित मिति: १ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया