एजेन्सी । अमेरिका–इरान द्वन्द्वका कारण मध्यपूर्वमा तेल आपूर्तिलाई लिएर देखिएको चिन्ता केही कम भएपछि शुक्रबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ ।
साउदी अरेबियाले क्षतिग्रस्त पाइपलाइनको विकल्पमा नयाँ मार्ग प्रयोग गर्दै एसियाली रिफाइनरीहरूलाई कच्चा तेल आपूर्ति गर्न थालेपछि बजारमा आपूर्तिसम्बन्धी दबाब केही घटेको हो ।
शुक्रबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल करिब १०३ डलरमा झरेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) करिब १०१ डलरमा कारोबार भइरहेको छ । यसै साता दुवै बेन्चमार्कको मूल्य प्रतिब्यारेल करिब ११० डलरसम्म पुगेको थियो ।
साउदी अरेबियाले ओमानको सोहर बन्दरगाहनजिकै खाडीबाहिर जहाजबाट जहाजमा तेल स्थानान्तरण गरी एसियाली रिफाइनरीहरूलाई थप कच्चा तेल उपलब्ध गराउन थालेको रिपोर्ट सार्वजनिक भएपछि आपूर्ति संकटको चिन्ता केही कम भएको हो ।
साउदीको पूर्व–पश्चिम पाइपलाइनमा भएको क्षति मर्मतको काम पनि जारी रहेको बताइएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अमेरिकासँग सम्झौता गर्न इच्छुक भए पनि आफूले आवश्यक ठानेका सर्त स्वीकार गर्न अझै तयार नरहेको बताएका छन् ।
ट्रम्पले इरान सम्झौताको पक्षमा रहेको दाबी गर्दै भनेका छन्, ‘इरान सम्झौता गर्न चाहन्छ, तर मेरो विचारमा उनीहरू तयार छैनन् । हामी राम्रो सम्झौता गर्नेछौँ, नत्र कुनै सम्झौता गर्नेछैनौँ ।’
इरानी अधिकारीहरूसँग प्रत्यक्ष कुराकानी भइरहेको दाबीसमेत ट्रम्पले गरेका छन् । तर तेहरानले त्यस्तो सम्पर्कबारे सार्वजनिक रूपमा पुष्टि गरेको छैन ।
यसअघि ट्रम्पले अमेरिका–इरान द्वन्द्व ‘आशावादी रूपमा अन्त्यतिर’ पुगेको बताएका थिए । उनले द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयासको सम्भावना रहेको संकेत गरे पनि आवश्यक परे सैन्य कारबाही पुनः सुरु वा विस्तार गर्न सक्ने चेतावनी दिँदै आएका छन् ।
उता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले होर्मुज जलडमरूमध्यमा टोगोको झण्डा बोकेको एक तेल ट्यांकरमाथि प्रहार गरेको जनाएको छ । उक्त ट्यांकरले ‘अवैध मार्ग’ प्रयोग गरी अघि बढ्न खोजेको इरानको दाबी छ ।
ट्यांकरमाथिको घटनाले होर्मुज जलडमरूमध्य हुँदै हुने तेल ढुवानीमा थप जोखिम सिर्जना गरेको छ । मध्यपूर्वबाट विश्व बजारमा तेल आपूर्ति गर्ने प्रमुख जलमार्गका रूपमा होर्मुजलाई लिइन्छ ।
प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया