काठमाडौं । संयुक्त राष्ट्रसङ्घले रुस–युक्रेन युद्ध सुरु भएयता युक्रेनमा सर्वसाधारण तथा युद्धबन्दीमाथि भएका यौनहिंसाका एक हजारभन्दा बढी घटना अभिलेख गरिएको जनाएको छ ।
राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयको प्रतिवेदनअनुसार सन् २०२२ फेब्रुअरी २४ देखि २०२६ जुलाई अन्त्यसम्म यौनहिंसाका एक हजार चार घटना दस्तावेज गरिएको छ । तीमध्ये ८९ प्रतिशत घटनामा रुसी अधिकारी संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ ।
रुसका सशस्त्र बल, कारागार सेवा र राष्ट्रिय सुरक्षा सेवाका सदस्यहरूमाथि ती घटनामा संलग्नताको आरोप लगाइएको छ । बाँकी ११ प्रतिशत घटनामा युक्रेनी अधिकारी संलग्न रहेको जनाउँदै राष्ट्रसङ्घले दुवै पक्षलाई घटनाको अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न आग्रह गरेको छ ।
प्रतिवेदन पीडित तथा घटनाबाट बाँचेका व्यक्तिसँग गरिएका गोप्य अन्तर्वार्ता, अदालतका कागजात र आधिकारिक अभिलेखमा आधारित रहेको राष्ट्रसङ्घले जनाएको छ ।
अभिलेख गरिएका घटनामा बलात्कार, सामूहिक बलात्कार, यातना, विद्युतीय झट्का तथा यौन प्रकृतिका अन्य अपमानजनक व्यवहार समावेश छन् । अधिकांश पीडित पुरुष रहेको र हिरासतमा रहेका व्यक्तिहरू बढी प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले घटनाको व्यापकता चिन्ताजनक रहेको बताएका छन् । अनुसन्धानकर्ताले रुसी नियन्त्रणमा रहेका युक्रेनी क्षेत्रहरूमा पहुँच नपाएकाले अभिलेख गरिएका घटना वास्तविक अवस्थाको सानो अंश मात्र हुनसक्ने जनाइएको छ ।
प्रतिवेदनमा अभिलेख गरिएका बलात्कारका घटनाका पीडितमध्ये सबैभन्दा कम उमेरकी चार वर्षीया बालिका र सबैभन्दा बढी उमेरकी ८२ वर्षीया महिला रहेको उल्लेख छ ।
प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया