काठमाडौं । असोज ९ गतेदेखि देशभर भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुने पूर्वानुमानपछि गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम विभाग पुगेर सम्भावित जोखिम र पूर्वतयारीबारे जानकारी लिएका छन् ।

मन्त्रीद्वयले मंगलबार बबरमहलस्थित नेपाल मौसम विज्ञान विभाग पुगेर महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेललगायत अधिकारीसँग मौसमको पछिल्लो अवस्थाबारे छलफल गरेका हुन् ।

मौसमविद्का अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’मा परिणत भएको छ । उक्त प्रणाली पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै गएकाले बुधबारदेखि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्ने पूर्वानुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित अति भारी वर्षाको सम्भावना औँल्याएको छ । मधेश, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाइएको छ ।

भारी वर्षाका कारण बाढी, डुबान, कटान र पहिरोको जोखिम बढ्ने भन्दै मौसमविद्ले जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले सोतर्फको यात्रा नगर्नसमेत आग्रह गरिएको छ ।

मौसम विभागको विशेष बुलेटिनपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक तयारीमा रहन सरोकारवाला निकायलाई आग्रह गरेको छ ।

प्राधिकरणले अत्यावश्यक कामबाहेक टाढा तथा रातिको यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गर्दै जोखिमयुक्त सडकमा डोजर, एक्साभेटर र लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न तथा सुरक्षा निकाय र स्वयंसेवकलाई प्रतिकार्यका लागि सतर्क रहन निर्देशन दिएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com