काठमाडौं । राजनीतिक विश्लेषक भरत दाहाललाई पक्राउ गर्नुको कारणसहित अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मंगलबार दाहाललाई नियन्त्रणमा लिनुको लिखित कारण पेस गर्न र उनलाई अदालतसमक्ष उपस्थित गराउन आदेश दिएको हो ।
दाहाललाई गत आइतबार मोरङको बेलबारीबाट प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि उनकी छोरी डेनिका दाहालले गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन् ।
सोही निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले दाहालको पक्राउको आधार र कारण खुलाउन सरकारलाई आदेश दिएको हो ।
भूराजनीतिक विषय तथा उच्चपदस्थ राजनीतिक नेतृत्वको संलग्नताबारे दाहालले दिएका विवादास्पद अभिव्यक्ति र अन्तर्वार्ता सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका थिए । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
सर्वोच्चको आदेशपछि अब सरकारले दाहाललाई पक्राउ गर्नुको कानुनी आधारसहित अदालतसमक्ष जवाफ पेस गर्नुपर्नेछ ।

प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार












प्रतिक्रिया