काठमाडौं । त्रिपुरेश्वरमा असोज ५ गते रिद्धिसिद्धि यातायातको बसमा आगजनी गरेर मृत्यु भएका चालक अर्जुन दोङ तामाङले सहचालकलाई बाहिर पठाएपछि गाडीमा राखिएको पेट्रोल छर्केर आगो लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
बा५ख ४२७४ नम्बरको बसका चालक अर्जुनले ट्राफिक प्रहरीसँग विवाद भएपछि मध्याह्न करिब १२ः१५ बजे बसको पछाडिको भागमा राखिएको पेट्रोल निकालेर आगजनी गरेको प्रहरीको भनाइ छ । आगोमा घाइते भएका उनको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो ।
घटनाबारे प्रहरीले बसका सहचालक रुपेश फुयाँलसँग सोधपुछ गरी घटना विवरण कागज गराएको छ । फुयाँलका अनुसार आगजनी गर्नुअघि अर्जुनले आफूलाई ‘गोप्य कुरा गर्नुछ’ भन्दै बाहिर पठाएका थिए । त्यसपछि उनी आँखा अस्पतालनजिक गएर चुरोट पिएका थिए ।
प्रहरीका अनुसार विश्वकर्मा पूजाका दिन बस सफा गर्न किनेको पेट्रोल बाँकी रहेपछि गाडीको पछाडिको भागमा राखिएको थियो । बसमा लागेको ग्रिज र मोबिल सफा गर्न प्रयोग गर्ने उद्देश्यले ल्याइएको उक्त पेट्रोलमध्ये करिब आधा बोतल आगजनीका क्रममा प्रयोग भएको अनुसन्धानबाट देखिएको छ ।
ट्राफिक प्रहरीसँग विवाद बढेपछि अर्जुनले बसको पछाडिबाट पेट्रोल निकालेर बीच भागमा छर्की आगो लगाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । आगलागीपछि सुरक्षाकर्मीले बसको ढोका फुटाएर उनलाई बाहिर निकाली उपचारका लागि अस्पताल पुर्याएका थिए ।
अर्काको लाइसेन्समा आफ्नै फोटो
अनुसन्धानका क्रममा अर्जुनले अरू व्यक्तिको सवारी चालक अनुमति पत्रमा आफ्नो फोटो राखेर प्रयोग गरेको खुलेको छ । रिद्धिसिद्धि यातायातमा उनले बुझाएको लाइसेन्सको विवरण नमिलेपछि सुरुमा उनको वास्तविक पहिचान खुलाउन प्रहरीलाई कठिन भएको थियो ।
प्रहरीले लामो अनुसन्धानपछि मृतक चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीका अर्जुन दोङ तामाङ भएको पुष्टि गरेको हो ।
उनको साथबाट काभ्रेको धुलिखेल ठेगाना भएका सुनिल तामाङ र ललितपुरको बागमती गाउँपालिका–७ का दावा लामाको चालक अनुमति पत्रका प्रतिलिपि भेटिएका थिए । त्यसकै आधारमा सुरुमा प्रहरीले उनको नाम दावा लामा रहेको जनाएको थियो ।
तर, अनुसन्धानपछि अर्जुनले दावा लामाको लाइसेन्समा आफ्नो फोटो टाँसेर यातायात समितिमा बुझाएको खुलेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताएका छन् ।
अर्काको नागरिकताबाट बैंक खाता
प्रहरीका अनुसार अर्जुनले अरू व्यक्तिको परिचयसमेत प्रयोग गर्दै आएको थप विवरण खुलेको छ । जन्मदर्ताको अभिलेखअनुसार उनी २०५७ कात्तिक ७ गते जन्मिएका थिए ।
प्रहरी अनुसन्धानमा उनले दावा लामाको नागरिकता प्रयोग गरेर बैंक खाता समेत खोलेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले बताएका छन् ।
यस घटनाले त्रिपुरेश्वरको आगजनीसँगै मृतक चालकको वास्तविक पहिचान, नक्कली कागजात प्रयोग र अर्काको परिचयबाट बैंक खाता खोलिएको विषयमा समेत अनुसन्धान अघि बढाएको छ ।
प्रकाशित मिति: ७ आश्विन २०८३, बुधबार












प्रतिक्रिया