काठमाडौं । लगातारको वर्षापछि काठमाडौं उपत्यकाका नदीमा पानीको बहाव बढेसँगै नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ । जोखिमलाई मध्यनजर गर्दै प्रहरीले नदी किनार तथा करिडोर क्षेत्रमा निगरानी बढाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार नदी किनार र करिडोरमा पार्किङ गरिएका तथा रोकिएका सवारीसाधन हटाउन थालिएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीले जोखिमयुक्त क्षेत्रमा चौबिसै घण्टा निगरानी गरिरहेका छन् ।
विशेषगरी बागमती र विष्णुमती करिडोरमा जोखिम बढेकाले प्रहरीले सर्वसाधारणलाई सम्भव भएसम्म ती सडक प्रयोग नगर्न आग्रह गरेको छ । जोखिमसम्बन्धी सूचना मेट्रो ट्राफिक एफएममार्फत समेत निरन्तर प्रवाह भइरहेको छ ।
च्यासल र थापाथली क्षेत्रमा नदीको पानीको सतह उल्लेख्य बढेकाले पैदलयात्रीलाई समेत ती क्षेत्रका सडक प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ ।
यसैबीच काठमाडौं उपत्यकाभित्रको आन्तरिक यातायात भने सामान्य रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । तर, उपत्यका बाहिरिने केही प्रमुख सडक पहिरोका कारण अवरुद्ध भएकाले ती मार्ग हुँदै जाने सवारीसाधनलाई काठमाडौंमै रोकिएको छ ।
बीपी राजमार्ग, कान्ति लोकपथ, दक्षिणकाली–सिस्नेरी सडकखण्ड र पृथ्वी राजमार्गमा पहिरोका कारण यातायात प्रभावित भएको छ । मकवानपुरबाट त्रिभुवन राजपथ हुँदै काठमाडौं प्रवेश गर्ने सडक, टोखा–छहरे हुँदै नुवाकोट जाने मार्ग र साँखुतर्फको सडक भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले अत्यावश्यक सामग्री बोकेका सवारीसाधन तथा बाटोमा रोकिएका यात्रुको व्यवस्थापन र सहजीकरणलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाएको छ ।
प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया