काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले नेपालले भोगिरहेको जलवायु परिवर्तन र विपद्का समस्यालाई विश्वमञ्चमा प्रभावकारी रूपमा उठाएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह, परराष्ट्रमन्त्री तथा नेपाली प्रतिनिधिमण्डलप्रति आभार व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत धितालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहले गरेको सम्बोधनले नेपाल र नेपालीले भोगिरहेका प्रमुख समस्या विश्वसमक्ष प्रस्तुत गरेको उल्लेख गरेकी हुन् ।

उनले नेपालको आवाज विश्वमञ्चमा पुर्‍याउने पहिलो कर्तव्य सफलतापूर्वक पूरा भए पनि यसलाई उपलब्धिमा सीमित नराखी थप बैठक, छलफल र अन्तर्राष्ट्रिय समन्वयमार्फत गन्तव्यसम्म पुर्‍याउनुपर्ने बताएकी छन् ।

धितालले जलवायु परिवर्तनले सीमा नचिन्ने र हिमनदी पग्लिने तथा बाढीजस्ता विपद्ले कुनै सीमाको परवाह नगर्ने विषय प्रधानमन्त्रीको सम्बोधनमार्फत विश्वसमक्ष पुगेको उल्लेख गरेकी छन् ।

उनका अनुसार नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको संकट मानवीय समस्यामात्र नभई विकासमै चुनौती थप्ने विषय हो । साथै, विश्वव्यापी स्रोत र प्राथमिकतामा रहेको असन्तुलनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको असरबारे पनि सम्बोधनले ध्यानाकर्षण गराएको उनले बताएकी छन् ।

धितालले यो पहललाई यात्राको सुरुआत भन्दै नेपालको आवाजलाई निरन्तर विश्वमञ्चमा उठाइराख्न दृढता, निरन्तर संवाद र समन्वय आवश्यक रहेको बताएकी छन् ।

उनले लेखेकी छन्, “हाम्रो आवाज विश्वमञ्चमा साझा गर्ने पहिलो कर्तव्य त हामीले सफलतापूर्वक पूरा गरेका छौँ। तर यो चरण यस यात्राको श्रीगणेश हो, इतिश्री होइन। हामीले आँटेको कदमलाई गन्तव्यसम्म पुर्‍याउन थप अनवरत बैठक, छलफल र समन्वयको आवश्यकता छ।”

धितालले नेपालको मुद्दालाई विश्वमञ्चसम्म पुर्‍याउन नेतृत्व गरेको भन्दै प्रधानमन्त्री, परराष्ट्रमन्त्री र नेपाली प्रतिनिधिमण्डलप्रति हार्दिक आभार व्यक्त गरेकी छन् ।

प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com