काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले मुलुकको आर्थिक अवस्था सुधार गर्न नसकेको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बस्नेतले पछिल्लो दुई महिनामा मुलुकको व्यापार घाटा ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ पुगेको र सार्वजनिक ऋण करिब २९ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको दाबी गरेका छन्।
उनले सरकारले ठूलो आकारको बजेट ल्याए पनि विकास खर्च कमजोर रहेको र राजस्व संकलन न्यून रहेको बताएका छन्। उद्योग तथा व्यवसाय क्षेत्र दबाबमा रहेको उल्लेख गर्दै उनले सरकारलाई आश्वासनमा सीमित नभई उत्पादन, निर्माण, रोजगारी सिर्जना तथा निजी क्षेत्रको आत्मविश्वास बढाउने ठोस काम गर्न आग्रह गरेका छन्।
‘बालेन्द्र शाह प्रधानमन्त्री र स्वर्णिम वाग्ले अर्थमन्त्री हुँदा पछिल्लो दुई महिनामै व्यापार घाटा रु. ३ खर्ब २४ अर्ब ९३ करोड र सार्वजनिक ऋण करिब रु. २९ खर्ब ७३ अर्ब पुगेको छ। बजेट ठूलो आकारको, विकास खर्च अत्यन्त कमजोर, राजस्व संकलन न्यून र उद्योग व्यवसाय पूर्ण रूपमा दबाबमा छन्,’ उनले भनेका छन्, ‘सरकारले आश्वासन होइन, उत्पादन, निर्माण, रोजगारी र निजी क्षेत्रको आत्मविश्वास बढाउने ठोस काम गरोस्।’
बस्नेतले युवा तथा उद्यमीलाई साथ र प्रोत्साहन दिँदै देशभित्रै रोजगारी र अवसर सिर्जना गर्नुपर्ने बताएका छन्।
विश्वमञ्चमा राहत माग्नेभन्दा आफ्नै श्रम, सीप र उत्पादनमार्फत मुलुक निर्माण गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ।
‘युवा र उद्यमीलाई साथ र प्रोत्साहन दिऔँ, देशमै अवसर सिर्जना गरौँ। विश्वमञ्चमा राहत माग्न हात फैलाउने होइन, आफ्नै श्रम, सीप र उत्पादनबाट देश बनाउने वातावरण तयार गरौँ,’ उनले भनेका छन्।
प्रकाशित मिति: १० आश्विन २०८३, शनिबार












प्रतिक्रिया