काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोटेकोशी बाढीबाट सिर्जित विपत्तिको सामना गर्न संघ, प्रदेश र स्थानीय तहका तीनै सरकार एकजुट भएर काम गरिरहेको बताएका छन्।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापाले भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवनका १५ वटा स्थानीय तह प्रभावित भएको जानकारी दिए।

उनका अनुसार बाढी तथा पहिरोमा परी ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। अहिलेसम्म १ हजार ३९४ जनाको शव फेला परेको र ७ हजारभन्दा बढी बेपत्ता रहेको उनले बताए।

‘अहिलेसम्म १३९४ जनाको शव फेला परेको छ। हाम्रो तथ्याङ्कमा सात हजारभन्दा बढी बेपत्ता हुनुभएको छ। आठ खर्बभन्दा बढी क्षति भएको छ,’ मुख्यमन्त्री थापाले भने, ‘पक्की पुल र झोलुङ्गे पुल गरी झन्डै ४० वटाभन्दा बढी पुलका संरचना ध्वस्त भएका छन्। ६५ सयभन्दा बढी व्यक्तिका घरसहित बस्ती नै बगाएको छ।’

बाढीबाट प्रभावित रसुवाको धुन्चे, स्याफ्रुबेँसी, टिमुरे तथा उत्तरगयाको बेत्रावतीलगायतका क्षेत्रमा तत्कालै बस्ती पुनःस्थापना गर्न सक्ने अवस्था नरहेको उनले बताए।

मुख्यमन्त्री थापाका अनुसार विपत्तिको सुरुवाती चरणमा उद्धार तथा उपचारलाई प्राथमिकता दिइएको थियो। त्यसपछि प्रभावित क्षेत्रमा खाद्यान्न व्यवस्थापनमा ध्यान दिइएको र अब पुनर्स्थापना तथा पुनर्निर्माणको काम अघि बढाइनेछ।

‘राज्यको तीन तहको सरकार छ। तीनै तहको सरकार अहिले त्यहाँ लागिराखेका छौँ। त्यो महाविपत्तिबाट पुरानै अवस्थामा कसरी फर्काउन सकिन्छ भनेर त्यता केन्द्रित छौँ,’ उनले भने, ‘सुरुको अवस्थामा उद्धार र उपचारतर्फ हामी लाग्यौँ। त्यसपछि खाद्यान्नको व्यवस्थातर्फ लाग्यौँ। अब हामीले पुनर्स्थापना र पुनर्निर्माणतर्फ राज्य अगाडि बढ्दै छ।’

प्रदेश सरकारको स्रोत र साधनले भ्याएसम्म प्रभावित क्षेत्रमा पुनर्स्थापना र पुनर्निर्माणका लागि काम गर्ने उनले बताए।

मुख्यमन्त्री थापाका अनुसार बाढीपछि प्रदेश सरकारले रसुवा र नुवाकोटका लागि १–१ करोड रुपैयाँ तथा धादिङ र चितवनका लागि ५०–५० लाख रुपैयाँ स्थानीय तहमार्फत खर्च गर्ने गरी बजेट विनियोजन गरेको छ।

यस्तै, प्रदेश सरकारले बाढीमा मृत्यु भएकाको काजक्रियाका लागि प्रतिमृतक २५ हजार रुपैयाँका दरले रकम पठाएको र परिवारलाई थप १ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको उनले जानकारी दिए।

प्रकाशित मिति: १० आश्विन २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com