काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यराति पक्राउ पुर्जीबिनै नियन्त्रणमा लिइएको भनिएको घटनाप्रति जेनजी अभियन्ता मिराज ढुंगानाले आपत्ति जनाएका छन्।

ढुंगानाले विज्ञप्ति जारी गर्दै जेनजीबाट सुरक्षा खतरा रहेको कारण देखाएर जबरालाई नियन्त्रणमा लिनु सरकारको कार्यशैली र विधिको शासनप्रति गम्भीर प्रश्न उठाउने विषय भएको बताएका छन्।

उनले घटनामा ‘जेनजीबाट सुरक्षा थ्रेट’ भन्ने सरकारको तर्कमाथि समेत प्रश्न उठाएका छन्। ढुंगानाले व्यङ्ग्यात्मक रूपमा ‘त्यो थ्रेट प्रधानमन्त्री जेनजी हुन् कि गृहमन्त्री जेनजी ?’ भन्दै प्रश्न गरेका छन्।

आफूलाई जेनजी पुस्तासँग जोड्ने प्रधानमन्त्री ३६ वर्ष र गृहमन्त्री ३९ वर्षको रहेको उल्लेख गर्दै ढुंगानाले विधिको शासनको उल्लंघन भएको दाबी गरेका छन्।

ढुंगानाले ‘जेनजी’ नामलाई सत्ता प्राप्तिको चुनावी हतियारका रूपमा प्रयोग गरिएको दाबीसमेत गरेका छन्। उनका अनुसार वर्तमान सरकारलाई वास्तविक ‘जेनजी सरकार’ भन्दा ‘सङ्क्रमणकालीन स्वार्थ समूहको सरकार’ का रूपमा बुझ्नुपर्ने अवस्था आएको छ।

गैरजेनजी व्यक्तिहरूले ‘जेनजी’ नामको राजनीतिक प्रयोग गर्दा वास्तविक युवा पुस्ता तथा जेनजी आन्दोलनको पहिचानमै असर पर्ने उनको भनाइ छ।

जबरालाई प्रहरीले मध्यराति महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको घटनापछि त्यसको कानुनी आधार, पक्राउको शैली र ‘सुरक्षा थ्रेट’ सम्बन्धी प्रहरीको दाबीबारे विभिन्न क्षेत्रबाट प्रश्न उठिरहेका छन्।

प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This