काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो तथा परिवारको शान्ति–सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइदिन प्रहरीसमक्ष निवेदन दिएका छन्।

जबराका छोरा सचिन्द्रशमशेर जबरामार्फत आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन दिइएको हो।

निवेदनमा पछिल्लो समय देशको अवस्था तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक भइरहेका शान्ति–सुरक्षासम्बन्धी विषयका कारण आफू र परिवारको सुरक्षामा गम्भीर चुनौती महसुस भएको उल्लेख गरिएको छ।

राज्यका विभिन्न निकायमा निर्वाह गरेको जिम्मेवारी तथा न्यायपालिकाको प्रमुखका रूपमा गरेका न्यायिक निर्णयका कारण आफूलाई थप असुरक्षा महसुस भएको पनि निवेदनमा उल्लेख छ।

पछिल्लो समय केही विषयमा प्रहरी कार्यालयबाट जानकारी प्राप्त भएपछि आफ्नो सुरक्षाका लागि थप व्यवस्था आवश्यक देखिएको जबराको भनाइ छ। त्यसैका आधारमा उनले सुरक्षा बढाउन माग गरेका हुन्।

आफ्नो व्यक्तिगत विवरण राज्यका सुरक्षा निकायलाई जानकारीमै रहेको उल्लेख गर्दै जबराले आफ्नो निवास, परिवार तथा जिउज्यानको सुरक्षामा राज्यको विशेष ध्यान पुग्नुपर्ने माग गरेका छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी सुशीलसिंह राठौरले जबराले सुरक्षा माग गर्दै निवेदन दिएको पुष्टि गरेका छन्।

यसअघि शनिबार राति प्रहरीले जबरालाई नियन्त्रणमा लिएको थियो। उनी आइतबार दिउँसो रिहा भएका थिए। उनको पक्राउ र रिहाइको विषयमा विभिन्न प्रतिक्रिया तथा टिप्पणी सार्वजनिक भइरहेका छन्।

प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com