काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहले गरेको सम्बोधनका क्रममा आत्मविश्वास नदेखिएको भन्दै प्रतिपक्षी सांसदहरूले गरेको टिप्पणीप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले व्यंग्यात्मक प्रतिक्रिया दिएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सुनारले प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघमा उठाएका विषयले अन्तर्राष्ट्रियस्तरमा चर्चा पाएको दाबी गरे। उक्त विषय अहिले धेरै हेरिने, पढिने र लेखिने समाचार बनेको उनको भनाइ थियो।

प्रधानमन्त्रीको आत्मविश्वासबारे भइरहेको टिप्पणीप्रति व्यंग्य गर्दै उनले भने, ‘घिउ खाएपछि जिउमा बल आउँछ भन्ने सुनेको थिएँ। तर कन्फिडेन्स के खाएपछि आउँछ, हामी सुन्न चाहन्छौँ।’

त्यसपछि उनले विभिन्न राजनीतिक विवाद तथा प्रकरणलाई जोड्दै प्रधानमन्त्रीको आत्मविश्वासको स्रोतबारे व्यंग्यात्मक प्रश्न गरे।

‘ग्रीन टी खाएपछि आउँछ कि गिरीबन्धु टी खाएपछि आउँछ त्यो कन्फिडेन्स? त्यो सुन खाएपछि आउँछ कुन्टल–कुन्टलमा कि लडाकुको शिविरको पसिना र रगत खाएपछि आउँछ?’ उनले भने।

सुनारले वाइडबडी, बालुवाटार, पासपोर्ट तथा गरिब र सुकुम्बासीका लालपुर्जासम्बन्धी प्रसंगसमेत उठाउँदै त्यस्ता विषयसँग आत्मविश्वासलाई जोडेर व्यंग्य गरे।

‘वाइडबडी खाएपछि आउँछ कि बालुवाटार खाएपछि? पासपोर्ट खाएपछि आउँछ कि गरिबका, सुकुम्बासीका लालपुर्जा खाएपछि आउँछ? के खाएपछि आउँछ त्यो कन्फिडेन्स? यो सदन सुन्न चाहन्छ,’ उनले भने।

सुनारले प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघमा उठाएका विषयमा भइरहेको चर्चालाई पनि प्रतिनिधिसभामा स्मरण गर्न आग्रह गरे।

प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com