काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कालाई बयानका लागि बोलाएको छ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा हिरासतमा रहेका बेला आयोगको टोलीलाई भेट्न नदिएको विषयमा आयोगले खड्कालाई सोमबार पत्राचार गर्दै बयानका लागि बोलाएको हो।

आयोगका अनुसार खड्कालाई असोज १३ गते मंगलबार आयोगमा उपस्थित हुन भनिएको छ। आयोगको टोलीलाई हिरासत अनुगमन गर्न रोक लगाइएको विषयमा खड्कासँग सोधपुछ गर्न लागिएको हो।

आइतबार आयोगका सदस्य मनोज दुवाडीसहित तीन सदस्यीय टोली जबरालाई भेट्न उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पुगेको थियो। तर प्रहरीले आयोगको टोलीलाई जबरासँग भेट गर्न नदिएपछि टोली फर्किएको थियो।

यसअघि आइतबार बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‘सुरक्षा थ्रेट’ रहेको भन्दै जबरालाई महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको थियो।

जबरालाई हिरासतमा राखिएको विषय तथा आयोगको टोलीलाई भेट्न नदिएको घटनाबारे आयोगले चासो राख्दै एसएसपी खड्कालाई बयानका लागि बोलाएको हो।

प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com