काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘जेन–जी पुस्ताबाट धम्की आएको’ भन्ने चर्चाको सत्यतथ्य सार्वजनिक गर्न जेन–जी अभियन्ता मिराज ढुंगानाले गृह मन्त्रालयसँग माग गरेका छन्।

गृहमन्त्रीलाई सम्बोधन गर्दै पत्र पठाएका ढुंगानाले पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गर्ने क्रममा प्रहरीले ‘जेन–जीबाट थ्रेट’ आएको बताएको विषयमा मन्त्रालयको आधिकारिक धारणा र यथार्थ विवरण तत्काल सार्वजनिक गर्न माग गरेका हुन्।

जबरालाई मध्यरातमा महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएपछि प्रहरीले सुरक्षा जोखिमका कारण उनलाई कार्यालयमा ल्याइएको बताएको थियो। त्यस क्रममा ‘जेन–जीबाट थ्रेट’ रहेको दाबी गरिएको भए पनि उक्त दाबीको आधार वा पुष्टि भएको विवरण सार्वजनिक नभएको ढुंगानाको भनाइ छ।

ढुंगानाले आफ्नो पत्रमा ‘जेन–जी’ कुनै व्यक्ति, गिरोह वा आपराधिक संगठन नभई एउटा उमेर समूह भएको उल्लेख गरेका छन्। नेपालमा कक्षा १० मा अध्ययनरतदेखि स्नातकोत्तर तहसम्मका करिब ७२ लाख नागरिक यो उमेर समूहमा पर्ने उनको दाबी छ।

‘जेन–जी भनेर दोषारोपण गर्दा सम्पूर्ण ७२ लाख नागरिक र नाबालिगलाई आरोप लगाएको ठहरिन्छ। त्यसैले यसबारे राज्यले स्पष्ट पार्नुपर्छ,’ पत्रमा भनिएको छ।

ढुंगानाले गृह मन्त्रालयसँग चोलेन्द्रलाई भनिएको ‘जेन–जी थ्रेट’बारे छ वटा प्रश्नसमेत गरेका छन्।

उनले पूर्वप्रधानन्यायाधीश जबरालाई वास्तविक रूपमा धम्की आएको हो वा होइन, धम्की आएको भए त्यसको आधिकारिक स्रोत र प्रकृति के हो तथा उक्त धम्कीलाई ‘जेन–जी’बाट आएको भनेर पहिचान गर्ने आधार के हो भन्ने प्रश्न गरेका छन्।

त्यस्तै, यस विषयमा नेपाल प्रहरी वा अन्य सुरक्षा निकायले गरेको अनुसन्धानको निष्कर्ष के छ, कुनै व्यक्ति वा समूहविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको भए त्यसको आधार के हो र सम्पूर्ण ‘जेन–जी’ पुस्तालाई शंकाको घेरामा पार्ने गरी सार्वजनिक धारणा निर्माण हुने अवस्थाबारे मन्त्रालयको दृष्टिकोण के हो भन्ने प्रश्न पनि उनले गरेका छन्।

कुनै नागरिकमाथि सुरक्षा चुनौती भए त्यसको निष्पक्ष अनुसन्धान गरी आवश्यक सुरक्षा प्रदान गर्नु राज्यको दायित्व भएको ढुंगानाले पत्रमा स्वीकार गरेका छन्।

तर, आधिकारिक निष्कर्ष सार्वजनिक नगरी सिंगो पुस्ता वा समुदायलाई सुरक्षा जोखिमसँग जोड्दा भ्रम र अविश्वास सिर्जना हुन सक्ने भन्दै उनले तथ्यमा आधारित विवरण सार्वजनिक गरेर आम नागरिकको अन्योल हटाउन गृह मन्त्रालयसँग आग्रह गरेका छन्।

प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com