काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालले उठाएको ‘जलवायु न्याय’को एजेण्डाले अन्तर्राष्ट्रिय मञ्चमा गम्भीर ध्यानाकर्षण गराउन सफल भएको दाबी गरेका छन्।
महासभामा सहभागी भएर बुधबार स्वदेश फर्किएका मन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री बालेन्द्र साहको सम्बोधन तथा आफूले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा राखेका धारणा नेपालको कूटनीतिक छवि थप प्रभावकारी बनाउन सहयोगी भएको बताए।
उनका अनुसार महासभाका क्रममा जलवायु परिवर्तनले नेपालजस्ता हिमाली तथा पर्वतीय मुलुकमा पारेको असरलाई ‘हिमालयन सुनामी’का रूपमा प्रस्तुत गरिएको थियो।
विशेषगरी भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि द्विपक्षीय तथा बहुपक्षीय भेटवार्तामार्फत आर्थिक तथा प्राविधिक सहयोगको आग्रह गरिएको उनले जानकारी दिए।
अब नेपालले आपत्कालीन राहतमा मात्रै सीमित नभई विपद्का कारण हुने क्षति न्यूनीकरण तथा पुनर्निर्माणका लागि ‘जलवायु वित्त’ र ‘क्षतिपूर्ति कोष’को प्रभावकारी परिचालनमा जोड दिएको मन्त्री खनालले बताए।
‘नेपालमा भएको ऐतिहासिक राजनीतिक परिवर्तन, वर्तमान सरकारका नीति तथा कार्यक्रम र नागरिकको समृद्धिको आकाङ्क्षालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्राप्त भयो। हालै नेपालले भोगेको भोटेकोशी बाढीलाई हामीले ‘हिमालयन सुनामी’का रूपमा प्रस्तुत गर्दै जलवायु न्यायको विषयलाई विश्वमञ्चमा उच्च प्राथमिकताका साथ उठाएका छौँ,’ उनले भने।
प्रधानमन्त्री साहले महासभालाई सम्बोधन गर्ने क्रममा ‘लस एन्ड ड्यामेज फन्ड’लगायत जलवायु वित्तीय संयन्त्रबाट स्रोत परिचालनलाई सहज बनाउन गरेको आह्वान पनि महत्त्वपूर्ण रहेको खनालले बताए।
भोटेकोशी बाढीपछि खोज, उद्धार तथा राहतमा सहयोग पुर्याउने छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायप्रति नेपालले आभार व्यक्त गरेको उनले बताए। आगामी पुनर्निर्माणका लागि थप सहयोगको आग्रह गरिएको पनि उनले जानकारी दिए।
भ्रमणका क्रममा नेपालले ग्रेनाडा, नामिबिया र सेनेगलसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ। यससँगै नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएका मुलुकको संख्या १८८ पुगेको मन्त्री खनालले बताए।
त्यसैगरी विभिन्न मुलुकसँग कूटनीतिक तथा सेवा राहदानीवाहकका लागि भिसा छुटसम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर भएको उनले जानकारी दिए।
मन्त्री खनालले प्रधानमन्त्री साहको महासभा सम्बोधन यस वर्ष बढी हेरिएको र चासो लिइएको भाषणमध्ये एक बनेको दाबी गरे।
बाढीपीडितका लागि सहयोग घोषणा गर्ने संयुक्त राज्य अमेरिका र संयुक्त अरब इमिरेट्स (यूएई)प्रति आभार व्यक्त गर्दै उनले अन्य अन्तर्राष्ट्रिय साझेदारहरू पनि नेपालको पुनर्निर्माणमा सहयोग गर्न सकारात्मक रहेको बताए।
उनका अनुसार संयुक्त राष्ट्रसंघ महासभामा भएको सहभागिताले आगामी दिनमा नेपालको कूटनीतिलाई थप प्रभावकारी बनाउँदै राष्ट्रिय हित प्रवर्द्धनका लागि आधार तयार गरेको छ।
प्रकाशित मिति: १४ आश्विन २०८३, बुधबार












प्रतिक्रिया