काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भदौ १० गते भोटेकोशी हुँदै आएको त्रिशूली बाढीबाट जलविद्युत् आयोजना, प्रसारण तथा सडक पूर्वाधारमा भएको क्षतिले ऊर्जा सुरक्षा र लगानीको भविष्यबारे गम्भीर प्रश्न उठाएको बताएका छन्।

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहेका घिसिङले बुधबार सामाजिक सञ्जालमार्फत बाढीबाट त्रिशूली नदी करिडोरमा सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजना, विद्युत् प्रसारण तथा वितरण संरचना र सडक पूर्वाधारमा भएको क्षति गम्भीर रहेको बताएका हुन्।

उनका अनुसार त्रिशूली नदी बेसिनको भौगोलिक तथा भौगर्भिक अवस्था र पछिल्लो प्राकृतिक विपद्का कारण यहाँका जलविद्युत् आयोजनाको भविष्य तथा लगानी सुरक्षाबारे चिन्ता बढेको छ।

‘त्रिशूली नदी बेसिनको भौगोलिक तथा भौगर्भिक अवस्था र पछिल्लो प्राकृतिक विपद्ले यहाँका जलविद्युत् आयोजनाहरूको भविष्य र लगानी सुरक्षाबारे गम्भीर चिन्ता उत्पन्न गरेको छ,’ घिसिङले भनेका छन्।

जलविद्युत् आयोजना र पूर्वाधारको सुरक्षाबारे देखिएको अनिश्चितताले स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबलमा समेत प्रतिकूल असर पर्न सक्ने उनको भनाइ छ।

घिसिङले विपद्का कारण थातथलो र सम्पत्ति गुमाएका नागरिकको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सरकारको उपस्थिति थप प्रभावकारी र देखिने गरी हुनुपर्नेमा जोड दिएका छन्।

जाडो नजिकिँदै गएको अवस्थामा विस्थापित नागरिकलाई असुरक्षित र कष्टपूर्ण अवस्थामा राख्न नहुने भन्दै उनले सुरक्षित आवास, राहत र पुनर्स्थापनाको ठोस व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन्।

‘विस्थापित नागरिकलाई जाडोको कठ्याङ्ग्रिँदो मौसममा असुरक्षित र कष्टपूर्ण अवस्थामा राखेर राज्य आफ्नो दायित्वबाट पन्छिन मिल्दैन,’ उनले भनेका छन्।

घिसिङले क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणसँगै लगानीकर्ताको विश्वास कायम राख्ने, क्षतिग्रस्त जलविद्युत् आयोजना पुनः सञ्चालनमा ल्याउने र भविष्यमा यस्ता विपद्बाट पूर्वाधारलाई सुरक्षित बनाउने दीर्घकालीन रणनीति आवश्यक रहेको बताएका छन्।

उनका अनुसार त्रिशूली र कालीगण्डकी करिडोरका प्रसारण लाइनमा भएको क्षतिले विद्युत् उत्पादन, प्रसारण र आपूर्तिको समग्र प्रणालीमा दबाब सिर्जना गरेको छ।

आगामी हिउँदमा विद्युत् माग व्यवस्थापन चुनौतीपूर्ण हुनसक्ने भन्दै उनले तत्काल पुनर्स्थापना गर्न सकिने प्रसारण संरचनाको पहिचान गरी निर्माण तथा मर्मतलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्।

‘लोडसेडिङ हुँदैन भन्ने घोषणा मात्र पर्याप्त हुँदैन,’ घिसिङले भनेका छन्, ‘लोडसेडिङ नहोस् भनेर आजैदेखि आवश्यक पूर्वतयारी, वैकल्पिक प्रसारण व्यवस्था र आपूर्ति व्यवस्थापनको ठोस काम सुरु गर्नुपर्छ।’

सङ्कटको समयमा स–साना विषयमा अल्झिनुभन्दा देशको ऊर्जा सुरक्षा, प्रभावित नागरिकको जीवन र क्षतिग्रस्त पूर्वाधारको पुनर्स्थापनालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।

प्राकृतिक विपद् रोक्न नसकिए पनि विपद्पछिको राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिने भन्दै घिसिङले सरकारको ध्यान ऊर्जा पूर्वाधारको सुरक्षा र प्रभावित नागरिकको पुनर्स्थापनातर्फ केन्द्रित गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: १४ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com