काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक चलिरहेकै अवस्थामा बहिष्कार गरेकी छन्।
बुधबार बिहान सिंहदरबारमा बसेको समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा र कैदीबन्दीको मानव अधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि छलफल भइरहेको थियो। छलफलकै क्रममा सांसद सिद्धिकी बैठकबाट बाहिरिएकी हुन्।
बैठक बहिष्कार गरेर बाहिरिएको पुष्टि गर्दै सिद्धिकीले सभापतिले बैठकलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको बताइन्।
उनका अनुसार बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद स्मृति सेञ्चुरीले आफ्नो नाम लिएर गालीगलौज गरेको र त्यसलाई सभापतिले रोक्न नसकेपछि आफू असहमति जनाउँदै बैठकबाट बाहिरिएकी हुन्।
‘सभापतिज्यूले बैठकलाई आफ्नो कन्ट्रोलमा राख्न सक्नुभएन। सत्तारुढ दल रास्वपाका सांसद स्मृति सेञ्चुरीले मेरो नाम लिएर गालीगलौज गर्दा पनि रोक्न सक्नुभएन,’ सिद्धिकीले भनिन्, ‘त्यसमा आफ्नो असहमति राखेर बैठकबाट बाहिरिएँ।’
सिद्धिकीले उपसमितिको प्रतिवेदनमा जेनजी आन्दोलनका क्रममा गम्भीर अपराधमा संलग्न नभएका व्यक्तिलाई प्रक्रिया पूरा गरेर थुनामुक्त गर्ने विषयप्रति समेत असहमति जनाएकी छन्।
उनले अपराधमा संलग्न व्यक्तिलाई सजायको व्यवस्था नगरी रिहा गर्ने विषयले भविष्यमा समस्या निम्त्याउन सक्ने प्रश्न उठाइन्। ‘केही सजाय राखेर छुटाउने कि त्यत्तिकै छोड्ने ? अपराध त अपराध हो, यसले भविष्यमा पनि समस्या पार्छ,’ उनले भनिन्।
त्यस्तै, सहकारी ठगीमा संलग्न व्यक्तिलाई जेलबाहिर राखेर पीडितलाई ठगी भएको रकम फिर्ता गराउने प्रस्तावप्रति पनि सिद्धिकीले असहमति जनाएकी छन्।
कैदीबन्दीमध्येबाटै नाइके कैदीबन्दी चयन गर्ने विषयमा पनि आफ्नो असहमति रहेको उनले बताइन्।
समितिमा कारागार तथा हिरासतमा रहेका थुनुवा र कैदीबन्दीको मानव अधिकार अवस्थासम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल जारी रहेका बेला सिद्धिकी बैठकबाट बाहिरिएकी हुन्।
प्रकाशित मिति: १४ आश्विन २०८३, बुधबार












प्रतिक्रिया