काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधिसभामा स्पष्ट बहुमत हुँदैमा प्रभावकारी शासन सञ्चालन हुने सुनिश्चित नहुने बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले सरकारसँग रहेको बहुमतलाई जनताको विश्वास कायम राख्ने गरी शासन सञ्चालनमा रूपान्तरण गर्नुपर्ने बताए। त्यसका लागि सरकारमा दृष्टि, संवाद, समन्वय, संस्थागत सम्मान, निर्णय क्षमता र परिणाम देखाउने क्षमता आवश्यक रहेको उनको भनाइ थियो।

‘सरकारसँग प्रतिनिधिसभामा स्पष्ट बहुमत छ । यो ठूलो राजनीतिक पूँजी हो । तर, बहुमत आफैंमा शासन गर्ने क्षमता होइन,’ उनले भने, ‘बहुमतले सरकार बनाउन सक्छ, तर जनताको विश्वास टिकाउन सक्दैन । त्यसका लागि दृष्टि, संवाद, समन्वय, संस्थागत सम्मान, निर्णय क्षमता र परिणाम चाहिन्छ ।’

आङ्देम्बेले सरकार राज्यका सबै तह र लोकतान्त्रिक संस्थासँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए। राज्यका तीनवटै तह, संसद्, संवैधानिक निकाय, प्रशासन, निजी क्षेत्र र नागरिक समाजलाई साथ लिएर अघि बढ्नुपर्नेमा सरकार सीमित राजनीतिक घेराभित्र केन्द्रित हुन खोजेको अनुभूति भएको उनले बताए।

‘सरकारले राज्य चलाउने हो, आफ्नो पक्ष या पक्षभित्रको कुनै सानो समूह मात्र चलाउने होइन,’ उनले भने।

उनले संसद्लाई सरकारको प्रतिस्पर्धीका रूपमा नभई लोकतन्त्रको साझेदार संस्थाका रूपमा बुझ्नुपर्नेमा जोड दिए। सरकारका निर्णय, नीति तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताबारे संसद्लाई जानकारी गराउने, संसद्सँग संवाद गर्ने र जवाफदेही हुने परम्पराको महत्त्व रहेको उनले बताए।

यसै क्रममा आङ्देम्बेले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर फर्किएका प्रधानमन्त्री बालेन शाहले संसद्लाई त्यसबारे जानकारी नगराएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

उनले संसद्लाई जानकारी गराएर महासभामा सहभागी हुनु केवल संसदीय परम्परा पूरा गर्नु मात्र नभई अन्तर्राष्ट्रिय मञ्चमा उठाइने विषयलाई संसदीय वैधता र स्वामित्व प्रदान गर्नु पनि भएको बताए।

‘दुर्भाग्य, संसद्लाई तपाईंले जानकारी त दिनुभएन नै, संयुक्त राष्ट्रसंघ महासभामा भाग लिएर फर्किएपछि संसद्लाई जानकारी गराउनुहुन्छ भन्ने लागेको थियो, त्यो पनि भएन,’ उनले भने।

संसदीय परम्परा र संस्थागत प्रक्रियालाई बेवास्ता नगर्न प्रधानमन्त्रीलाई सचेत गराउँदै आङ्देम्बेले भने, ‘सबै परम्परा भत्काउँछु भन्दा कुनै दिन तपाईंलाई त्यसकै कुनै वेगले उडाउला, हेक्का राख्नुस् ।’

प्रकाशित मिति: १५ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com