काठमाडौं । राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले सरकार फासीवादको बाटोमा अघि बढिरहेको आरोप लगाएकी छन्।
बिहीबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै झाँक्रीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मध्यरातमा भएको गिरफ्तारीलाई सरकारको पछिल्लो कदमका रूपमा व्याख्या गर्दै त्यसबारे संसद्मा सरकारले जवाफ दिनुपर्ने माग गरिन्।
उनले जबराको गिरफ्तारीको स्पष्ट कारण सरकारले सार्वजनिक गर्न नसकेको दाबी गरिन्।
‘सरकारले मध्यरातमा पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्यो। बिनाकारण गरिएको गिरफ्तारीबारे सरकारले लाज ढाक्न पनि कारण दिन सकेको छैन,’ उनले भनिन्।
झाँक्रीले सरकारलाई संसद्प्रति जवाफदेही बनाउनुपर्ने बताउँदै यस अधिवेशनमा जवाफ नदिए आगामी अधिवेशनमा भए पनि सरकारसँग जवाफ माग्नुपर्ने धारणा राखिन्।
‘सरकारलाई सदनमा जवाफदेही बनाउनुपर्छ। यो अधिवेशनमा सरकारले जवाफ दिएन भने अर्को अधिवेशनमा भए पनि जवाफदेही बनाउनुपर्छ,’ उनले भनिन्।
फासीवाद कसरी उदय हुन्छ भन्ने विषयमा विश्वमा धेरै अध्ययन र पुस्तकहरू लेखिएको उल्लेख गर्दै झाँक्रीले सरकारका पछिल्ला कदमहरू त्यसतर्फ संकेत गर्ने खालका रहेको दाबी गरिन्।
सरकारका एकपछि अर्को निर्णय र गतिविधिले लोकतान्त्रिक मूल्य तथा संस्थागत प्रक्रियामाथि प्रश्न उठाएको उनको भनाइ थियो।
प्रकाशित मिति: १५ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया