काठमाडौं । जेनजी अभियन्ता मिराज ढुङ्गानाले नयाँ राजनीतिक शक्ति निर्माणका लागि ‘थर्ड पोल’ अवधारणामाथि काम भइरहेको बताएका छन्। उनले ‘थर्ड पोल’ तत्कालै गठन हुने कुनै संकीर्ण राजनीतिक दल नभई देशका विद्यमान समस्या र आवश्यकतामा आधारित राजनीतिक विचार तथा शक्ति निर्माणको अवधारणा भएको स्पष्ट पारेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै ढुङ्गानाले ५०० जना मानिस भेला पारेर नयाँ राजनीतिक दल दर्ता गर्न सकिने भए पनि त्यसले मात्रै मुलुकलाई राजनीतिक निकास दिन नसक्ने बताए।

उनका अनुसार नयाँ राजनीतिक दल गठन गर्नुको उद्देश्य केवल राजनीतिक अभ्यास गर्नु वा शक्ति हासिल गर्नु नभई देशले लामो समयदेखि भोग्दै आएका राजनीतिक, आर्थिक तथा सामाजिक समस्याको समाधान दिन सक्ने विचार, नेतृत्व र संस्थागत शक्ति निर्माण गर्नु हो।

‘थर्ड पोल भनेको एउटा संकीर्ण दल मात्र होइन, एउटा विचार हो,’ उनले भनेका छन्।

विगतमा नयाँ राजनीतिक दलहरू गठन भए पनि अपेक्षाअनुसार राजनीतिक निकास आउन नसकेको उल्लेख गर्दै ढुङ्गानाले केही दिनको तयारीमै दल गठन वा सरकार निर्माण गर्दैमा मुलुकका दीर्घकालीन समस्या समाधान नहुने बताए।

देशको समस्या समाधान गर्न राज्य सञ्चालनको क्षमता, बौद्धिकता र समन्वय गर्न सक्ने व्यापक टिम आवश्यक रहेको उनको भनाइ छ। पाँच–छ जना सक्षम व्यक्ति मात्र भएर मुलुक सञ्चालन गर्न नसकिने भन्दै उनले लाखौँ नागरिकको सहभागिता र बलियो संस्थागत संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए।

‘देशको समस्या समाधान गर्न राज्य सञ्चालनको क्षमता, बौद्धिकता र समन्वय भएको टिम आवश्यक छ। पाँच–छ जना मानिस सक्षम हुँदैमा मात्रै देश सञ्चालन गर्न सकिँदैन,’ उनले भनेका छन्।

‘थर्ड पोल’ निर्माणका लागि देशका अन्तरविरोध, समस्या र वस्तुस्थितिलाई समग्र रूपमा बुझ्न सक्ने टिम निर्माण गर्नुपर्ने ढुङ्गानाले बताए। त्यसका लागि देशभर लामो र घनिभूत छलफल आवश्यक रहेको उनले उल्लेख गरे।

उनले स्पष्ट राजनीतिक विचारबिना गठन हुने दल प्रभावकारी राजनीतिक शक्ति बन्न नसक्ने धारणा राखे। अहिले ‘थर्ड पोल’ राजनीतिक विचार निर्माणको चरणमा रहेको र उपयुक्त समय तथा आवश्यक आधार तयार भएपछि यसले राजनीतिक दलको स्वरूप लिन सक्ने उनले बताए।

‘थर्ड पोल आजको भोलि गठन हुने कुरा होइन। यसको लागि लामो छलफल आवश्यक छ,’ ढुङ्गानाले भनेका छन्।

उनले नयाँ राजनीतिक शक्ति निर्माण गर्दा विगतका राजनीतिक अभ्यासबाट पाठ सिक्दै देशको वास्तविक समस्या, जनताको आवश्यकता र राज्य सञ्चालनको क्षमतालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com