काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय कार्यालय सार्न काठमाडौं उपत्यकाभित्र घर वा जग्गा खोज्न थालेको छ।

सभापति रवि लामिछानेको अध्यक्षतामा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले पार्टीको आफ्नै स्थायी संरचना निर्माण गर्ने उद्देश्यले नयाँ स्थानमा घर वा जग्गा खरिद गर्ने निर्णय गरेको हो।

पार्टीको संगठन र कार्यक्षेत्र विस्तार हुँदै गएपछि हालको कार्यालयमा दैनिक गतिविधि सञ्चालन तथा भीड व्यवस्थापनमा कठिनाइ हुन थालेकाले नयाँ स्थानको खोजी गरिएको रास्वपाले जनाएको छ।

प्रवक्ता जगदीश खरेलका अनुसार उपत्यकामा सहज पहुँच हुने उपयुक्त स्थानमा घर वा जग्गा खरिद गर्न पार्टीले आफ्ना सदस्य तथा शुभेच्छुकसँग समेत सहयोग र जानकारीका लागि आग्रह गरेको छ।

रास्वपाले स्थापनादेखि बसुन्धरामा रहेको कार्यालय केही वर्षअघि वनस्थलीमा सारेको थियो। तर, वनस्थलीको कार्यालय पनि दीर्घकालीन रूपमा पर्याप्त नहुने देखिएपछि स्थायी संरचना निर्माणको तयारी अघि बढाइएको हो।

बैठकले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै महामन्त्री विपिन आचार्यको संयोजकत्वमा केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरेको छ। त्यस्तै, असोज २० देखि २७ गतेसम्म ७५३ वटै पालिकामा ‘हामी आउँदै छौं’ अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।

प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com