काभ्रे । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र नेकपा मसालसँगको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने बताएका छन्।
काभ्रेमा आयोजित पार्टी एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले विचार मिल्ने कम्युनिस्ट शक्तिसँग सहकार्य गर्दै अघि बढ्ने पार्टीको नीति रहेको बताए।
उनका अनुसार एमाले र मसालसँग कार्यगत एकता सुरु भइसकेको छ। केन्द्रीय कार्यसंयोजन समितिको सर्वसम्मत निर्णयअनुसार सुरु भएको सहकार्यलाई आगामी दिनमा थप मजबुत बनाउने उनले बताए।
प्रचण्डले सडक आन्दोलनदेखि संसद्को बहस तथा स्थानीय र प्रदेशसभा निर्वाचनसम्म सहकार्यलाई निरन्तरता दिने बताए।
‘आउने दिनमा सडक आन्दोलन, सदनभित्रको बहस–छलफल तथा स्थानीय र प्रदेशसभाको निर्वाचनमा पनि यो सहकार्यलाई सुदृढ गर्दै जानुपर्छ,’ उनले भने।
आवश्यकताअनुसार सातै प्रदेशका सरकारमा पार्टी सहभागी भएको उल्लेख गर्दै प्रचण्डले कम्युनिस्ट शक्तिबीचको सहकार्यलाई राजनीतिक रूपमा थप प्रभावकारी बनाउने दाबी गरे।
उनले पार्टीको आन्तरिक संगठन सुदृढीकरणलाई पनि प्राथमिकतामा राख्न निर्देशन दिए। आगामी महाधिवेशनले संगठनलाई थप चुस्त र ऊर्जावान् बनाउने तथा नेतृत्वमा युवाको सहभागिता सुनिश्चित गर्ने उनको भनाइ छ।
प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार












प्रतिक्रिया