काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गरेर भदौ १० गतेयता भएका विपद्का घटनाको व्यवस्थापन तथा उद्धार–राहतका काम निरन्तर भइरहेको बताएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले सरकार उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गर्दै विपद् व्यवस्थापनमा निरन्तर सक्रिय रहेको बताएका हुन्।

बैठकमा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको समेत सहभागिता थियो।

मुख्यमन्त्रीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनको कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको बताए।

‘हामीले उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौँ। त्यसैले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्दछु,’ उनले भने।

प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली तथा गण्डकी क्षेत्रमा आएको बाढीपहिरोसहित अन्य विपद्बाट भएको क्षतिको अध्ययन र मूल्यांकन गर्दै त्यसको व्यवस्थापनमा सरकार जुटिरहेको जानकारी दिए।

उनले भविष्यमा विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने तयारी भइरहेको बताए। हिमपहिरोको जोखिम न्यूनीकरणका लागि समेत आवश्यक काम अघि बढाइएको उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले विपद्का बेला आफ्नो ज्यानको समेत जोखिम मोलेर उद्धार, राहत तथा व्यवस्थापनमा निरन्तर खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक तथा राजनीतिक दलका प्रतिनिधिसहित सबैप्रति आभार व्यक्त गरे।

उनले विपद् व्यवस्थापनमा संलग्न सबै पक्षको योगदानले प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुगेको बताए।

प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com