काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा केन्द्रीय पदाधिकारी तथा सदस्यका आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ। यसैक्रममा डा. भद्रा पराजुली भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
भण्डारीले आफ्नो उम्मेदवारीलाई कांग्रेसको संगठनात्मक सुधार, वैचारिक स्पष्टता र समयअनुकूल पार्टी रूपान्तरणको एजेन्डासँग जोड्दै अघि सारेकी छन्। परम्परागत राजनीतिक अभ्यासबाट माथि उठ्दै कांग्रेसलाई आधुनिक, जनउत्तरदायी, नीतिमुखी र प्रभावकारी राजनीतिक शक्तिका रूपमा पुनःनिर्माण गर्नुपर्ने उनको धारणा छ।
महिला सहभागिताको विषयमा पनि भण्डारीले केवल संख्यात्मक प्रतिनिधित्व पर्याप्त नहुने बताउँदै आएकी छन्। महिलालाई पार्टीको नीति निर्माण, निर्णय प्रक्रिया र नेतृत्वको मूलधारमा स्थापित गर्नुपर्ने उनको जोड छ।
पार्टीको विशेष महाधिवेशनमा सक्रिय भूमिका निर्वाह गरेकी भण्डारीले कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण विभागमा रहेरसमेत काम गरिसकेकी छन्। उक्त जिम्मेवारीमा रहँदा पार्टीका नीति, समसामयिक राजनीतिक मुद्दा तथा नयाँ वैचारिक बहसलाई कार्यकर्तामाझ पुर्याउने काममा उनी सक्रिय थिइन्।
त्यसैगरी, बागमती प्रदेश कार्यसमितिमा रहेर काम गरिसकेकी भण्डारी पार्टी संगठनसँगै समसामयिक राजनीति, कांग्रेसका चुनौती, नीति तथा महिला नेतृत्वका विषयमा लेखन र विश्लेषणमा समेत सक्रिय रहँदै आएकी छन्।
भण्डारी लामो समयदेखि कांग्रेस महामन्त्री गगन थापासँग निकट वैचारिक धारमा रहेर पार्टी राजनीतिमा सक्रिय छिन्। उनले थापाले अघि सारेको ‘नवीन कांग्रेस’को अवधारणालाई संस्थागत गर्न केन्द्रीय समितिमा ऊर्जाशील, वैचारिक र सुधारमुखी नेतृत्व आवश्यक रहेको बताउँदै आएकी छन्।
उम्मेदवारी घोषणा गर्दै भण्डारीले १५औँ महाधिवेशनलाई कांग्रेसको नेतृत्व चयनमा मात्र सीमित नराखी पार्टीको आगामी दिशा र रूपान्तरण तय गर्ने अवसरका रूपमा लिनुपर्ने बताएकी छन्।
“१५औँ महाधिवेशन कांग्रेसका लागि केवल नेतृत्व चुन्ने कर्मकाण्ड होइन, यो त पार्टीको भविष्य र रूपान्तरणको दिशा तय गर्ने ऐतिहासिक अवसर हो,” भण्डारीले भनेकी छन्।
प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार











प्रतिक्रिया