काठमाडौं । भारतको सर्वोच्च अदालतले चेक बाउन्ससम्बन्धी मुद्दामा अभिनेता राजपाल यादवप्रति कडा असन्तुष्टि व्यक्त गर्दै अदालतको आदेश पालना नगरे जेल जानुपर्ने चेतावनी दिएको छ।
सोमबारको सुनुवाइमा यादवको तर्फबाट ५० लाख रुपैयाँको डिमान्ड ड्राफ्टको फोटोकपी मात्र पेस भएपछि अदालतले त्यसप्रति आपत्ति जनाएको हो।
‘बार एन्ड बेन्च’का अनुसार न्यायाधीश जोयमाल्या बागचीले यादवलाई कडा शब्दमा चेतावनी दिँदै उनीमाथि लागेको आर्थिक दायित्व पूरा गर्नुपर्ने बताएका थिए। उनले यादवलाई आफ्नो व्यवहारमा संयम अपनाउनसमेत सुझाउँदै ‘तपाईंको ठाउँ जेलमा हो’ भनेका थिए।
सर्वोच्च अदालतले यादवको याचिका खारेज गर्न सक्ने अवस्था भए पनि उजुरीकर्ताले आफ्नो रकम पाउन सकून् भन्ने उद्देश्यले तत्काल त्यस्तो निर्णय नगरेको स्पष्ट पारेको छ। यस प्रकरणमा करिब ७ करोड ५० लाख रुपैयाँ बराबरको रकम विवादमा रहेको बताइएको छ।
अदालतले यादवलाई बाँकी रकम जुनसुकै अवस्थामा भए पनि भोलिसम्म भुक्तानी गर्न निर्देशन दिएको छ। मुद्दाको अर्को सुनुवाइ पर्सि हुने र उक्त मुद्दालाई कार्यसूचीको पहिलो प्राथमिकतामा राखिने अदालतले जनाएको छ।
यो विवाद सन् २०१० मा यादवले चलचित्र ‘अता पता लापता’ निर्माणका लागि ‘मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेड’बाट लिएको करिब ५ करोड रुपैयाँ ऋणसँग जोडिएको हो। चलचित्र व्यावसायिक रूपमा असफल भएपछि ऋण फिर्ता गर्न नसकेको भन्दै उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढेको थियो।
यसअघि दिल्ली उच्च अदालतले समेत उनलाई यही प्रकरणमा तीन महिनाको जेल सजाय सुनाएको थियो।
प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार












प्रतिक्रिया