काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना अनधिकृत रूपमा चुहाउने जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउने बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने कुनै पनि व्यक्ति कारबाहीबाट उम्कन नसक्ने बताएका हुन्।
उनले गृह मन्त्रालय तथा मातहतका निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी र कर्मचारीले आफ्नो पदीय हैसियतको दुरुपयोग गर्दै गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति तथा निकायलाई उपलब्ध गराउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको उल्लेख गरेका छन्।
‘गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति मैले लामो समयदेखि नियालिरहेको छु,’ उनले लेखेका छन्।
गृहमन्त्री गुरुङले राज्यका संवेदनशील सूचना व्यक्तिगत सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको स्पष्ट पारेका छन्। पदका कारण सूचनामा पहुँच प्राप्त भए पनि त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई नरहेको उनले बताएका छन्।
‘राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो। पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन,’ उनले भनेका छन्।
गृह मन्त्रालयमा प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीसमेत अपराध नियन्त्रण, अनुसन्धान तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न महत्वपूर्ण हुन सक्ने उनको भनाइ छ।
गुरुङले राज्यको गोपनीयता र संवेदनशील सूचनाको संरक्षणमा जिम्मेवार पदाधिकारी तथा कर्मचारी गम्भीर बन्नुपर्ने बताएका छन्।
यसैबीच, संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले सोमबार सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको थियो। गृह मन्त्रालयका अनुसार दाहालमाथि पदीय आचरणविपरीत कार्य गरेको र संवेदनशील सूचना चुहावट गरेको आरोप छ।
गृहमन्त्री गुरुङले राज्यको गोपनीयता र संगठनप्रति विश्वासघात गर्ने जोसुकै भए पनि कानुनी कारबाही गरिने स्पष्ट पारेका छन्।
प्रकाशित मिति: २० आश्विन २०८३, मंगलबार












प्रतिक्रिया