काठमाडौं । पाकिस्तान र टर्कीले यमनका हुथी विद्रोहीको सम्भावित आक्रमण सामना गर्न साउदी अरबमा सैन्य बल तैनाथ गर्ने तयारी गरेका छन्।

साउदी अरब, पाकिस्तान र टर्कीबीच भएको ‘मक्का रक्षा सम्झौता’अन्तर्गत तीन देशका रक्षा तथा परराष्ट्रमन्त्रीको रियादमा बसेको आपत्कालीन बैठकले सैन्य बलको द्रुत तैनाथीमा सहमति जुटाएको हो।

गत अगस्ट ७ मा सम्झौतामा हस्ताक्षर भएपछि पहिलोपटक यसको रक्षा प्रावधान सक्रिय गरिएको हो। सम्झौताअनुसार तीनमध्ये कुनै एक देशमाथि भएको आक्रमणलाई सबैमाथिको आक्रमणका रूपमा लिइने व्यवस्था छ।

साउदीका रक्षा मन्त्री खालिद बिन सलमानले सम्झौताअन्तर्गत सामूहिक जवाफी क्षमतालाई सक्रिय गरिएको बताएका छन्। बैठकमा विशेषगरी मक्का र मदिनालाई लक्षित हुन सक्ने आक्रमणको निन्दा गरिएको थियो।

पाकिस्तानका सयौँ सैनिक यसअघि नै साउदी अरबमा तैनाथ छन्। टर्कीको प्रारम्भिक भूमिका भने यमनमा प्रत्यक्ष लडाकु सेना पठाउनुभन्दा साउदी भूमिमा वायु रक्षा, ड्रोन निगरानी, गुप्तचर तथा प्राविधिक सहयोगमा केन्द्रित हुने सम्भावना रहेको बताइएको छ।

तर, टर्कीमा विदेशमा सैन्य बल पठाउन सामान्यतः संसद्को स्वीकृति आवश्यक हुने भएकाले उसको वास्तविक सैन्य प्रतिबद्धता अझै स्पष्ट भइसकेको छैन।

यसैबीच, यमनमा साउदी समर्थित सरकारी सेनाले हुथीहरूले कब्जा गरेका भूभाग फिर्ता लिन सैन्य अभियान तीव्र पारेको छ। क्षेत्रीय तनाव बढ्दै जाँदा हुथीहरूले साउदीको ऊर्जा पूर्वाधार र दक्षिणी सहरलाई लक्षित गरी मिसाइल तथा ड्रोन आक्रमण बढाउन सक्ने आशंका गरिएको छ।

प्रकाशित मिति: २० आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com