बारा । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उच्च शिक्षामा सुधारका लागि नीतिगत र संरचनागत परिवर्तनलाई तीव्रता दिइरहेको बताएका छन्।

शिक्षा तथा खेलकुद मन्त्रालयले सिमरामा आयोजना गरेको उच्चस्तरीय संवाद कार्यक्रममा उनले नयाँ शिक्षा ऐन निर्माणसँगै राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको काम पनि अघि बढाइएको जानकारी दिए।

मधेशको शैक्षिक अवस्था काठमाडौंमा बसेर बनाइने नीतिले मात्र सम्बोधन गर्न नसक्ने भन्दै उनले स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग प्रत्यक्ष संवाद गरेर नीति निर्माण गर्नुपर्ने बताए।

मन्त्री पोखरेलले नयाँ शिक्षा ऐनसँगै विश्वविद्यालयहरूका लागि एकीकृत ऐन बनाउने तयारी भइरहेको र संवादबाट प्राप्त सुझावलाई नीतिमा समेटिने बताए।

उनले विश्वविद्यालयको संख्या थप्नुभन्दा शैक्षिक गुणस्तर, सीपमा आधारित तथा प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने बताए। विदेशी विद्यार्थी आकर्षित गर्ने विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।

मधेश प्रदेशमा माध्यमिक तहसम्मका कम्तीमा १०० वटा विश्वस्तरीय विद्यालय निर्माण तथा रूपान्तरण गर्ने गरी भूगोल, जनसंख्या र विद्यार्थी–शिक्षक अनुपातलाई आधार बनाएर काम भइरहेको उनले जानकारी दिए।

सिटिइभिटी र नर्सिङ शिक्षामा देखिएका समस्या नयाँ नेतृत्व र नयाँ ऐनमार्फत समाधान गर्ने बताउँदै उनले मुगु र बाराजस्ता फरक भूगोलका आवश्यकता सम्बोधन हुने स्थानीय बजार, संस्कृति र समाजअनुकूल व्यवहारिक पाठ्यक्रम निर्माणमा सरकार प्रतिबद्ध रहेको बताए।

प्रकाशित मिति: २० आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com