काठमाडौं । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बनमा परेपछि उनीसँग जोडिएको ‘सूचना चुहावट’ प्रकरणको अनुसन्धानको दायरा थप फराकिलो बनेको छ। दाहालसँग सम्बन्धित घटनाक्रममा नेपाल प्रहरीका केही उच्च पदस्थ अधिकारीको समेत सम्पर्क देखिएको उच्च स्रोतले जनाएको छ।

विभिन्न मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टलाई थुनाबाहिर ल्याउन भएको भनिएको गतिविधिमा संलग्न रहेको र त्यससम्बन्धी संवेदनशील सूचना चुहावट गरेको आरोपमा एआईजी दाहाल निलम्बनमा परेका हुन्।

अनुसन्धानमा दाहालले जुन व्यक्तिमार्फत सूचना आदानप्रदान गरेको भनिएको छ, ती व्यक्तिसँग नेपाल प्रहरीका केही विशिष्ट श्रेणीका कर्मचारीको समेत सम्पर्क देखिएको स्रोतको दाबी छ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ प्रकरण पनि भट्टसँग जोडिएको भनिएको गतिविधिसँग सम्बन्धित रहेको अनुसन्धान स्रोतको भनाइ छ। असोज ११ गते बाँसबारीस्थित निवासबाट पक्राउ परेका राणामाथि भट्टलाई थुनाबाट बाहिर ल्याउने विषयमा चलखेल गरेको आरोपमा अनुसन्धान भइरहेको बताइएको छ।

सर्वोच्च अदालतमा दायर भएको संसद् विघटनसम्बन्धी रिटमा समेत चलखेल भएको सूचना पाएपछि राणालाई पक्राउ गरिएको स्रोतको दाबी छ। राणा पक्राउ परेलगत्तै उनका ज्वाइँ नाता पर्ने एआईजी दाहाल उनलाई राखिएको टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका थिए।

दाहाल कार्यालय पुगेको केही समयपछि राणा पक्राउ परेको सूचना सार्वजनिक भएको थियो। तर, अनुसन्धानको दायरा उक्त घटनामा मात्रै सीमित नरहेको स्रोतको भनाइ छ।

व्यवसायी भट्टलाई थुनामुक्त गराउने गतिविधिमा मध्यस्थकर्ताको भूमिकामा रहेको भनिएका नेपालीमूलका अमेरिकी ग्रिनकार्डधारी इनाम सापकोटा र पूर्वप्रधानन्यायाधीश राणाबीच नियमित सम्पर्क रहेको अनुसन्धानबाट खुलेको स्रोतले जनाएको छ। उक्त सम्पर्कमा एआईजी दाहालको समेत भूमिका रहेको बताइएको छ।

सापकोटाको सम्पर्क दाहालसँग मात्रै नभई नेपाल प्रहरीका केही उच्च पदस्थ अधिकारीसँग समेत रहेको स्रोतको दाबी छ। राणा पक्राउ परेलगत्तै दिल्ली जान लागेका सापकोटालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो। उनी हाल अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसरको हिरासतमा छन्।

सापकोटाबाट नियन्त्रणमा लिइएको मोबाइल फोनमा रहेको ह्वाट्सएप अकाउन्टमार्फत भएका सम्पर्कको अनुसन्धानका क्रममा एआईजी दाहाल पहिलोपटक अनुसन्धानको दायरामा आएको स्रोतले जनाएको छ। भट्टसँग सम्बन्धित गतिविधि बढेपछि सरकारले उनलाई काठमाडौं उपत्यकाबाट सिन्धुपाल्चोक कारागार चलान गरेको थियो।

अनुसन्धानरत स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश राणा र एआईजी दाहाल मात्र नभई नेपाल प्रहरी तथा अन्य क्षेत्रका केही व्यक्तिको समेत उक्त गतिविधिमा संलग्नता रहेको हुन सक्ने देखिएको छ।

सापकोटाको मोबाइल अहिले पनि प्रहरीको डिजिटल फोरेन्सिक ल्याब (डीएफएल) मा रहेको छ। प्रहरीले मोबाइलमा रहेका सम्पर्क, सन्देश तथा अन्य डिजिटल विवरण संकलन र विश्लेषण गरिरहेको जनाएको छ।

स्रोतका अनुसार डीएफएलबाट प्राप्त डिजिटल सूचनाका आधारमा सम्बन्धित व्यक्तिहरूसँगको सम्पर्क र भूमिकाबारे थप अनुसन्धान अघि बढाइएको छ। अनुसन्धानका क्रममा प्राप्त विवरणका आधारमा थप व्यक्तिहरूमाथि समेत अनुसन्धानको दायरा विस्तार हुन सक्ने बताइएको छ।

के हुनसक्छ एआईजी वंशीराज दाहालमाथि कारवाही ?

सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालमाथि छानबिन प्रक्रिया अघि बढाइएको छ। निलम्बनको भोलिपल्टै अर्का एआईजी अञ्जनीकुमार पोखरेललाई दाहालमाथि छानबिन गर्ने जिम्मेवारी दिइएको छ।

गृह मन्त्रालयका अनुसार एआईजी पोखरेलले तीन दिनभित्र आवश्यक छानबिन गरी प्रतिवेदन बुझाउनेछन्। सोही प्रतिवेदनका आधारमा दाहालमाथि थप कारबाही अघि बढाइनेछ।

असोज २८ गते एआईजीको चारवर्षे पदावधि पूरा गर्न लागेका दाहालको त्यसअघि नै म्याद थप नभए अनिवार्य अवकाशमा जाने अवस्था छ। उनको पदावधि थपका लागि सशस्त्र प्रहरी बलबाट गृह मन्त्रालयमा सिफारिससमेत पुगिसकेको थियो।

तर, गम्भीर आरोपमा निलम्बनमा परेपछि उनको पदावधि थप हुने सम्भावना कमजोर बनेको गृह मन्त्रालय स्रोतको भनाइ छ।

सुरक्षा निकायमा कार्यरत कर्मचारीले पदीय जिम्मेवारीमा प्राप्त गोप्य तथा संवेदनशील सूचना अनधिकृत रूपमा चुहाउनु गम्भीर कसुर मानिन्छ। यस्तो कसुरमा विभागीय कारबाहीसँगै फौजदारी अभियोगसमेत आकर्षित हुन सक्ने स्रोतले जनाएको छ।

छानबिनका क्रममा फौजदारी अभियोग चलाउनुपर्ने अवस्था देखिएमा दाहाललाई सेवाबाट बर्खास्त गर्नुका साथै कानुनी कारबाही अघि बढाउने तयारी रहेको स्रोतको भनाइ छ।

फौजदारी अभियोग सिफारिस नभएको अवस्थामा पनि दाहाललाई सेवाबाट बर्खास्त गर्नुपर्ने दबाब गृह मन्त्रालयमा रहेको बताइएको छ।

फौजदारी अभियोग आकर्षित हुने अवस्था आएमा उनलाई नियन्त्रणमा लिएर थुनामा राख्दै मुद्दा अघि बढाउन सकिनेछ। विभागीय कारबाहीबाट मात्रै सेवाबाट बर्खास्त गरिएमा भने तत्काल थुनामा राख्नुपर्ने अवस्था नहुन सक्छ।

तर, सेवाबाट बर्खास्त भएमा दाहालले अवकाशपछि पाउने निवृत्तिभरण (पेन्सन) समेत रोक्का हुने स्रोतले जनाएको छ।

यसअघि गृह मन्त्रालयले संवेदनशील सूचना चुहावट तथा पदीय आचरणविपरीत कार्य गरेको आरोपमा दाहाललाई निलम्बन गरेको थियो। अब एआईजी पोखरेलको नेतृत्वमा हुने तीनदिने छानबिनले दाहालमाथि थप कारबाहीको बाटो तय गर्नेछ।

प्रकाशित मिति: २० आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com