काठमाडौं । नेकपा (एमाले) ले पार्टीका स्थानीय तहका कमिटीहरूको अधिवेशनको मिति तय गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकले वडा कमिटीको अधिवेशन आगामी मंसिर २६ गते र पालिका तहको अधिवेशन पुस ४ गते गर्ने निर्णय गरेको हो।

बैठकको सुरुवातमा केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पार्टीको वरिष्ठ नेतामा मनोनीत विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी थिइन्।

स्थायी कमिटी बैठकले मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ। एमाले उपमहासचिव लेखराज भट्टका अनुसार भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र विभिन्न तहका जनप्रतिनिधिहरू सहभागी हुनेछन्।

वडा तथा पालिका अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णयसमेत बैठकले गरेको छ।

त्यस्तै, मधेस प्रदेशसभामा समानुपातिकतर्फ रौतहटबाट प्रतिनिधित्व गर्ने जैनब खातुनको निधन भएपछि रिक्त भएको स्थानमा नाजमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगलाई जानकारी गराउने निर्णय बैठकले गरेको छ।

बैठकले पार्टीको समानुपातिक सूचीमा क्रम सङ्ख्या ४२ तथा बन्दसूचीको क्रम ४० मा रहेकी नाजमा खातुनलाई रिक्त स्थानमा मनोनयन गर्न निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेको हो।

यसैगरी, जिल्ला अध्यक्ष पद रिक्त रहेका १३ जिल्लामा जिल्ला तहबाटै अध्यक्ष चयन गरी सम्बन्धित सङ्गठन कमिटीलाई पूर्णता दिने निर्णय बैठकले गरेको छ। जिल्ला तहबाट चयन गरिएका अध्यक्षलाई माथिल्लो कमिटीबाट अनुमोदनका लागि पठाउनुपर्ने व्यवस्था बैठकले गरेको छ।

स्थायी कमिटीको बैठक शुक्रबार पुनः बस्ने एमालेले जनाएको छ।

प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com