काठमाडौं । ब्राजिलमा दक्षिणपन्थी राष्ट्रपति पदका उम्मेदवार फ्लावियो बोल्सोनारोविरुद्ध हजारौँ युवा तथा विद्यार्थी सडकमा उत्रिएका छन्। रियो दि जेनेरियोमा भएको प्रदर्शनलाई बढ्दो दक्षिणपन्थी राजनीतिप्रतिको युवाको असन्तुष्टिका रूपमा हेरिएको छ।
राष्ट्रपति निर्वाचनको पहिलो चरणमा फ्लावियोले ४७ प्रतिशत मत पाएका थिए भने वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले ४५ प्रतिशत मत प्राप्त गरेका थिए। कसैले पनि बहुमत नल्याएपछि दुवैबीच अक्टोबर २५ मा दोस्रो चरणको प्रतिस्पर्धा हुने समाचारमा उल्लेख छ।
प्रदर्शनकारीहरूले ‘बोल्सोनारो कहिल्यै चाहिँदैन’ र ‘निरङ्कुशता अस्वीकार्य छ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरूले फ्लावियोको राजनीतिक विचारधाराले लोकतन्त्र र नागरिक अधिकारमा असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
२० वर्षीय विद्यार्थी जोआओ भिक्टर भिएराले फ्लावियो विजयी भए ब्राजिल अमेरिकी प्रभावमा पर्ने चिन्ता व्यक्त गरेका छन्। त्यस्तै, अन्य प्रदर्शनकारीले दक्षिणपन्थी शासनमा अल्पसङ्ख्यक समुदायको सुरक्षा र अभिव्यक्ति स्वतन्त्रतामाथि जोखिम बढ्न सक्ने बताएका छन्।
फ्लावियो पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा हुन्। उनले आफ्ना पितालाई माफी दिने घोषणा पनि गरेका छन्। निर्वाचनको दोस्रो चरण नजिकिँदै गर्दा ब्राजिलको राजनीति थप ध्रुवीकृत बनेको समाचारमा उल्लेख छ।
प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया