काठमाडौं । दक्षिण अफ्रिकाकी मानवअधिकारकर्मी तथा न्यायविद् नवी पिल्लेलाई सन् २०२६ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ।

अन्तर्राष्ट्रिय कानुन, मानवअधिकार र न्यायको प्रवर्द्धनमा पुर्‍याएको योगदानका लागि उनलाई यो सम्मान प्रदान गरिएको हो।

८५ वर्षीया पिल्लेको जन्म दक्षिण अफ्रिकाको डरबनमा भारतीय तमिल मूलको परिवारमा भएको हो। रंगभेदको समयमा सामाजिक विभेदको सामना गर्दै कानुनी पेसामा अघि बढेकी उनले जातीय विभेद र संस्थागत अन्यायविरुद्ध लामो समय काम गरेकी छन्।

सन् १९६७ मा उनले दक्षिण अफ्रिकाको नाटाल क्षेत्रमा आफ्नै कानुनी अभ्यास सुरु गरेकी थिइन्। रंगभेदविरोधी अभियन्ताहरूको पक्षमा वकालत गरेकी पिल्ले पछि रुवान्डाका लागि अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणमा न्यायाधीश नियुक्त भइन्। उनले त्यहाँ आठ वर्ष सेवा गरिन्, जसमध्ये चार वर्ष अध्यक्षको जिम्मेवारी सम्हालिन्।

पिल्ले सन् २००८ देखि २०१४ सम्म संयुक्त राष्ट्रसंघकी मानवअधिकार उच्चायुक्तसमेत रहेकी थिइन्। उनले अन्तर्राष्ट्रिय न्यायिक निकायहरूमा काम गर्नुका साथै मानवअधिकार उल्लङ्घनका घटनामा जवाफदेहिता सुनिश्चित गर्न योगदान पुर्‍याएकी छन्।

रंगभेदको कठिन परिस्थितिबाट अघि बढ्दै अन्तर्राष्ट्रिय न्यायको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी पिल्लेको सम्मानलाई मानवअधिकार संरक्षण, कानुनी शासन र द्वन्द्वपीडितलाई न्याय दिलाउने प्रयासको मान्यताका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com