काठमाडौं । सरकारले विश्व बैंकसँग भूकम्प विपद् व्यवस्थापन कोषसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिनेदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कार उपलब्ध गराउनेसम्मका चार निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सरकारले गरेका चारवटा निर्णयबारे जानकारी दिएका हुन्।
बैठकले विश्व बैंकसँग ‘अर्थक्वेक क्याटास्ट्रोफी फन्ड’ (भूकम्प विपद् व्यवस्थापन कोष) सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ।
त्यस्तै, विटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने सम्बन्धमा ‘समिति गठन आदेश, २०८३’ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
यसैगरी, जापानको आइची–नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगितामा पदक जित्ने महिला कबड्डी तथा करातेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय भएको मन्त्री तिमिल्सिनाले जानकारी दिए।
मन्त्रिपरिषद्ले नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णयसमेत गरेको छ। बढुवापछि उनलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गरिएको छ।
सरकारले यी निर्णयमार्फत विपद् व्यवस्थापन, विटौरी जग्गा दर्ता, खेलाडीको प्रोत्साहन तथा प्रशासनिक व्यवस्थापनसम्बन्धी विषयलाई अघि बढाएको छ।
प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया