काठमाडौं । सरकारले बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यापारीलाई पनि नगद पुरस्कार दिने तयारी गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत विक्रेतालाई समेत पुरस्कृत गर्ने व्यवस्था मिलाउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिएका छन्।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित राजस्व समीक्षा बैठकमा अर्थमन्त्री वाग्लेले बिल लिने र दिने दुवै संस्कार विकास गर्न आवश्यक रहेको बताएका छन्। उपभोक्तालाई बिल लिएबापत पुरस्कार दिने व्यवस्थाले बिल लिने प्रवृत्ति बढाए पनि व्यापारीले बिल जारी गर्न हिचकिचाएको गुनासो आएकाले विक्रेतालाई समेत प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ।

उनले पुरस्कारसम्बन्धी कार्यविधि संशोधन गरी विक्रेतालाई कति रकम र कसरी उपलब्ध गराउन सकिन्छ भन्ने प्रस्ताव पेस गर्न विभागलाई निर्देशन दिएका छन्। विक्रेताले पाउने पुरस्कार रकम भने टुङ्गो लागिसकेको छैन।

सरकारले चालु आर्थिक वर्षको साउन १ गतेदेखि करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ। उक्त कार्यक्रमअन्तर्गत प्रत्येक १५ दिनमा बिल नम्बरका आधारमा दैनिक एक जनालाई एक लाख ३४ हजार रुपैयाँ र एक जनालाई बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ पुरस्कार घोषणा गरिँदै आएको छ।

आकस्मिक लाभकर कट्टीपछि दैनिक पुरस्कार विजेताले एक लाख र बम्पर विजेताले सात लाख ५० हजार रुपैयाँ प्राप्त गर्छन्। असोज १५ गतेसम्म पाँच चरणमा पुरस्कार घोषणा हुँदा ७४ जनाले जनही एक लाख रुपैयाँ र पाँच जनाले बम्पर पुरस्कार जितिसकेका छन्।

कार्यविधि समयमै संशोधन भएमा असोज १६ देखि मसान्तसम्मको दोस्रो पाक्षिक पुरस्कार घोषणामा विक्रेतालाई समेत समेट्न सकिनेछ। पुरस्कारमा सहभागी हुन उपभोक्ताले वस्तु खरिद गर्दा सक्कल प्यान वा भ्याट बिल लिनुपर्नेछ। अनलाइन भुक्तानी गर्ने उपभोक्ता स्वतः योग्य हुनेछन् भने नगदमा भुक्तानी गरेर बिल लिनेले आन्तरिक राजस्व विभागको करदाता पुरस्कार पोर्टलमा बिल अपलोड गर्न सक्नेछन्।

प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com