काठमाडौं । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले देश प्राकृतिक विपद्को चपेटामा परेका बेला राजनीतिक दल, सरकार र सरोकारवाला सबै निकायलाई आपसी मतभेद त्यागेर उद्धार तथा राहतमा केन्द्रित हुन आग्रह गरेका छन्।

आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि घटस्थापनाकै दिन बूढीगण्डकी नदीमा आएको बाढीले धादिङ र गोरखामा ठूलो क्षति पुर्‍याएको बताए।

बाढीले पक्की तथा झोलुङ्गे पुल, सडक संरचना र स्थानीय बजारसमेत बगाउँदा प्रभावित क्षेत्रका नागरिकले ठूलो संकट सामना गर्नुपरेको उनको भनाइ थियो। उनले बाढीबाट प्रभावित जिल्लाका बासिन्दाको पीडाप्रति दुःख व्यक्त गर्दै सरकारको ध्यान तत्काल उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित हुनुपर्ने बताए।

विपद्का बेला सरकार र सुरक्षा निकायको आलोचना गरेर उनीहरूको मनोबल कमजोर पार्न नहुने धारणा राख्दै धमलाले प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरुङ तथा सुरक्षा निकायका अधिकारी बिहानैदेखि उद्धार कार्यमा खटिएको उल्लेख गरे।

जलवायु परिवर्तनका कारण नेपालमा छोटो समयमै ठूला प्राकृतिक विपद् दोहोरिन थालेको भन्दै उनले तत्काल राहतसँगै भविष्यमा हुन सक्ने क्षति न्यूनीकरणका लागि दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिए।

धमलाले आफ्नो नेतृत्वको स्वतन्त्र नागरिक अभियानका तर्फबाट गोरखा, धादिङ, रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा पुगेर स्थानीय नागरिकका समस्या बुझ्ने र समाधानका लागि सरकारलाई निरन्तर खबरदारी गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

यसैबीच, दसैँ मनाउन काठमाडौँबाट बाहिरिएका यात्रु सडक अवरुद्ध हुँदा तीन दिनदेखि बाटोमै अलपत्र पर्नुपरेको अवस्थाप्रति पनि धमलाले चिन्ता व्यक्त गरे।

उनले काठमाडौँ–तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणलाई तीव्रता दिन सरकारसँग आग्रह गरे। आयोजना समयमै सम्पन्न हुन सके आगामी वर्षायाममा सर्वसाधारणले अहिलेको जस्तो सास्ती भोग्नुपर्ने अवस्था कम हुने उनको भनाइ थियो।

धमलाले प्रधानमन्त्री बालेन शाह र प्रधानसेनापति अशोकराज सिग्देललाई फास्ट ट्र्याकको निर्माण आगामी छ महिनाभित्र सम्पन्न गर्ने गरी काम अघि बढाउन आग्रह गरे।

प्राकृतिक विपद्ले देशलाई संकटमा पारेका बेला राजनीतिक दलहरू पूर्वाग्रह र आपसी विवादभन्दा माथि उठेर एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए। यस्तो परिस्थितिमा उद्धार, राहत र प्रभावित नागरिकको पुनःस्थापनालाई साझा प्राथमिकता बनाउनुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: २५ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com