काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा खसेको बाढी तथा पहिरोले मुख्य राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बूढीगण्डकी नदीमा आएको बाढीले दुईवटा पुल बगाएपछि गोरखा-धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने अन्य चार स्थानका सडकहरूमा यातायात एकतर्फी मात्र सञ्चालन भइरहेको छ।
गण्डकी प्रदेशअन्तर्गत गोरखाको आरुघाट गाउँपालिका-२, ३ र ९ मा बाढीले क्षति पुर्याउँदा गोरखा–धादिङ जोड्ने मुख्य सडक ठप्प बनेको हो।
बूढीगण्डकी नदीको बाढीले आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित फलामे पुलका साथै वडा नं. ९ नयाँपुलस्थित गोरखा-आरुघाटबाट धादिङ जोड्ने पक्की पुल बगाएपछि यस क्षेत्रमा सवारी साधन तथा पैदल यात्रुको आवागमन पूर्ण रूपमा रोकिएको छ।
त्यस्तै बागमती प्रदेशअन्तर्गत धादिङको त्रिभुवन राजपथस्थित धुनिबेंसी नगरपालिका-९ खत्रीपौवामा पहिरो खस्दा सडक एकतर्फी मात्र सञ्चालनमा छ। म्याग्दीको बेनी–जोमसोम सडक खण्डअन्तर्गत रघुगंगा गाउँपालिका-२ बैसरीमा पहिरो जाँदा सडक एकतर्फी रूपमा मात्र खुला रहेको छ।
नवलपरासी (पूर्व) स्थित कालीगण्डकी कोरिडोरको बौदिकाली गाउँपालिका-३ जन्ती पहिरोमा खसेको लेदो र पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालन भएको छ, जहाँ ठूला सवारी साधनहरू चल्न सकेका छैनन्। मनाङमा पनि बाढीका कारण बेँसीसहर हुँदै खाङसारतर्फ जाने सडक खण्ड एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
अवरुद्ध तथा जोखिमयुक्त सडक खण्डमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन र सम्बन्धित निकायबाट पछिल्लो सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा तय गर्न नेपाल प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ।
प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार












प्रतिक्रिया