काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी सेवामा पेसागत सफलता हासिल गर्न नैतिकता, निष्ठा र इमानदारितालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। उनले संविधान र कानुनको पालना गर्दै अनुशासन, जवाफदेहिता तथा निष्पक्षताका साथ जिम्मेवारी निर्वाह गर्न प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका छन्।
राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले तालिमका क्रममा प्राप्त ज्ञान, सीप र अनुभवलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरे।
उनले पेसागत आचरण र अनुशासन कायम राख्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि तथा मापदण्डको पूर्ण पालना गर्नु प्रहरी सेवाको महत्त्वपूर्ण दायित्व भएको उल्लेख गरे।
‘पेसागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही रूपमा पालना गर्नु–गराउनु व्यक्तिको पेसागत सफलता रक्षा गर्न अहम आवश्यकता हो। जिम्मेवारीप्रतिको जवाफदेहिता पनि उत्तिकै महत्त्वपूर्ण पक्ष हो,’ उनले भने।
नेपाल प्रहरीले देशमा शान्ति–सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने तथा नागरिकका स्वतन्त्रता र अधिकारको संरक्षण गर्ने महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको प्रधानमन्त्री शाहको भनाइ थियो।
यस्ता जिम्मेवारी पूरा गर्दा कुनै पनि अनुचित प्रभावमा नपरी भेदभावरहित ढङ्गले कर्तव्य निर्वाह गर्न उनले प्रहरी अधिकारीहरूलाई निर्देशन दिए।
‘यो महत्त्वपूर्ण जिम्मेवारी निभाउँदा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी, भेदभाव नगरी आफ्नो कर्तव्यमा कटिबद्ध रहनुहोला,’ उनले भने, ‘आफ्नो भूमिका र संस्थाको गतिशीलतालाई बुझेर नागरिकको भावनाअनुरूप काम गर्नुपर्छ।’
प्रधानमन्त्री शाहले प्रहरी सङ्गठनभित्र आपसी सहयोग, सहकार्य र संस्थागत प्रतिबद्धता आवश्यक रहेको पनि बताए। सूचना प्रविधिको प्रभावकारी प्रयोगले प्रहरी सेवाको कामलाई छिटो, सहज, पारदर्शी र प्रभावकारी बनाउन सकिने उनको भनाइ थियो।
प्रविधिको सदुपयोगबाट अपराध अनुसन्धानलाई समयमै सम्पन्न गर्न तथा घटनाको तत्काल नियन्त्रण गर्न सहयोग पुग्ने उनले उल्लेख गरे।
‘अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्नेछ। यसमा समग्र प्रहरी सङ्गठनको नेतृत्व र प्रशिक्षणलगायतको पनि महत्त्वपूर्ण भूमिका हुन्छ,’ प्रधानमन्त्री शाहले भने।
प्रहरी अनुसन्धानलाई प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारे।
समारोहमा दीक्षित भएका प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै प्रधानमन्त्री शाहले सफल कार्यकाल र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे। प्रहरी सेवामा आबद्ध रहन प्रेरित गर्ने उनीहरूका परिवारजनप्रति पनि उनले आभार प्रकट गरे।
समारोहमा प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहका ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन्।
प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार











प्रतिक्रिया