काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले सामाजिक सञ्जालमा सार्वजनिक भएको विवादास्पद अडियोमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । प्रहरीभित्रको भ्रष्टाचार र अनियमितताबारे संसद्को सार्वजनिक लेखा समितिमा प्रश्न उठाएकै कारण आफूलाई नियोजित रूपमा फसाउन खोजिएको उनको आरोप छ ।
मंगलबार फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै सुनारले पछिल्लो समय आफूविरुद्ध घुस लिएको, भ्रष्टाचार गरेकोलगायतका आरोप लगाएर बदनाम गर्न खोजिएको बताएका छन् । सार्वजनिक अडियोमा सुनिएको व्यक्ति आफू नभएको र उक्त घटनासँग आफ्नो कुनै सम्बन्ध नरहेको उनको जिकिर छ ।
‘अहिले सामाजिक सञ्जालमा जे अडियो, भिडियो भनेर आएको छ, त्यसमा मेरो कुनै सम्बन्ध छैन । त्यो पात्र म होइन,’ उनले भिडियोमा भनेका छन् ।
सुनारले प्रहरीभित्रको भ्रष्टाचार र अनियमितताबारे प्रश्न उठाएपछि नेपाल प्रहरीको प्रधान कार्यालयदेखि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सम्मबाट आफूलाई फसाउने प्रयास भएको आरोपसमेत लगाए ।
आफूसँग नजिक रहेका साथीभाइ, आफन्त तथा चिनजानका व्यक्तिलाई बोलाएर आफूविरुद्ध उजुरी दिन प्रोत्साहित गरिएको उनको दाबी छ । त्यस्ता व्यक्तिलाई मुद्दा दर्ता गरे आर्थिक सहयोग र सम्मान दिनेसम्मका प्रस्ताव गरिएको उनले बताएका छन् ।
आफूविरुद्ध प्रमाण जुटाउन र उजुरी दिन विभिन्न व्यक्तिलाई दबाब तथा प्रलोभन दिइएको सुनारको आरोप छ । प्रहरीका विभिन्न निकायले आफूसँग सम्बन्धित व्यक्तिहरूलाई परिचालन गरेर सामाजिक सञ्जालमा लेख्न र विरोध गर्नसमेत उक्साएको उनको भनाइ छ ।
त्यसैगरी, आफूलाई जोडेर महिला तथा अन्य व्यक्तिको चरित्र हत्या गर्ने उद्देश्यले काल्पनिक पात्र र प्रसंग समेटेर अडियो सार्वजनिक गरिएको सुनारले आरोप लगाएका छन् । उक्त अडियो कृत्रिम बुद्धिमत्ता (एआई) वा अन्य प्रविधिको प्रयोग गरेर तयार पारिएको हुन सक्ने आशंकासमेत उनले व्यक्त गरेका छन् ।
सुनारले आफूविरुद्ध उठेका प्रश्नको सामना गर्न तयार रहेको बताउँदै पार्टी, संसद् र सरकारले निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन् । आफूसँग सम्बन्धित व्यक्तिहरूमाथि समेत अनुसन्धान गर्न आफू तयार रहेको उनको भनाइ छ ।
आवश्यक परे पार्टीको केन्द्रीय समितिबाट निलम्बित हुन र सांसद पदबाट समेत बाहिरिन तयार रहेको उल्लेख गर्दै उनले आफूलाई कुनै प्रकारको संरक्षण नदिन आग्रह गरेका छन् ।
‘ममाथि छानबिन होस्, निर्मम छानबिन होस् । पार्टीले, सरकारले ममाथि कुनै दया देखाउनु पर्दैन । ममाथि निष्पक्ष छानबिन होस् । अपराध र बदमासी गरेको सन्दर्भमा कानुनले दिएको सबै कुरा भोग्न तयार छु,’ उनले भनेका छन् ।
आफूले कुनै अपराध गरेको प्रमाणित भए कानुनी कारबाही भोग्न तयार रहेको सुनारको भनाइ छ । तर, प्रहरीको बर्दी, बन्दुक र हत्कडीको दुरुपयोग गरेर कसैलाई फसाउने वा चरित्र हत्या गर्ने काम गर्न नहुने उनले बताएका छन् ।
प्रहरीभित्र गरिबका छोराछोरीका जुत्ता र मोजासम्बन्धी विषयमा भएको भनिएको भ्रष्टाचारबारे प्रश्न उठाएकै कारण आफूले यस्तो परिस्थितिको सामना गर्नुपरेको सुनारको दाबी छ ।
जनताबाट उठेका प्रश्नको जवाफ दिन र राज्यका सबै निकायबाट हुने अनुसन्धानमा सहयोग गर्न आफू तयार रहेको दोहोर्याउँदै उनले घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन् ।
प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलबार












प्रतिक्रिया